भक्तपुर : जिल्ला पुशसेवा कार्यालय भक्तपुरले पशुहरूमा जुनोसिस रोग परीक्षण सुरु गरेको छ ।
कार्यालयले जिल्लाका विभिन्न गाविसमा गएर पशुपक्षीहरूको दूध, रगतलगायतको नमूना संकलन सुरु गरेको जिल्ला पशु सेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्रराज भट्टले जानकारी दिए ।
कार्यालयले पंक्षीको बर्ड फ्लू रोगको सर्भिलेन्स पूर्ववत गर्नुका साथै पशुपंक्षीको बु्रसेलोसिस, लेप्टोस्पाइरोसिस, सिप्टीसकोसिस, हाइडाटिडोसिस, टक्सोरलाजमोसिस लगायत रागेको बारेमा संकलित नमूना क्षेत्रीय पशुरोग अन्वषण प्रयोगशालामा लगेर परीक्षण गरिने उनले जानकारी दिए । यसका लागि कार्यालयले जिल्लाभरिबाट ३ सय गाईभौसी, १ सय ५० भेडाबाख्रा, २५ बंगुर र कुखुरा, २५ कुकुर र बिरालो गरी ५ सय वटा पशुपक्षीको दूध एवं रगतको नमुना संकलन गर्न सुरु गरेको हो ।
विभिन्न रोग लागेको पशुपक्षीको मासु तथा दूध सेवन गर्दा मानिसमा यस्ता रोग सिधै सर्ने भएकाले यस्ता रोग भए नभएको परीक्षण गर्ने र यस्ता रोग भेटिएमा त्यसका लागि जनचेतनालगायत स्वास्थ्यसम्बन्धी विभिन्न कार्य गरिने जानकारी गराईयो ।
कार्यालय प्रमुख भट्टले टिबी अर्थात् क्षेयरोग भएको गाईभौसीको दूध खाएमा मानिसलाई पनि टिबी सर्ने, त्यस्तै अन्य पशुको मासु खाएमा त्यसमा भएको रोग मानिसमा सर्ने हुनाले परीक्षण सुरु गरेका जानकारी गराए । यसले रोगको यकिन गर्न सकिने र कृषकमा जनचेतना पनि अभिवृद्धि हुने बताउँदै उनले पशुपक्षीमा यस्ता रोग फेला परेमा निदानका उपायहरू अपनाइने बताए । (सौस)
प्रतिक्रिया