काठमाडौ, २३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाले आयोगमा दर्ता भएका एक हजार मध्ये ९६० उजुरीको अनुसन्धान गरिरहेको छ ।
आयोगले ४० उजुरीको स्थलगतरुपमा छानबिन र थप अनुसन्धान गरेर फछ्र्याेट गर्ने जनाएको छ । आयोगका अनुसार क्षेत्रीय कार्यालयमा मध्यमाञ्चल विकास क्षेत्रका काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरबाहेक अन्य जिल्लाबाट ८०० भन्दा बढी उजुरी दर्ता भएका छन् । यसैगरी आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा १०० तथा क्षेत्रीय कार्यालयमा अहिले १०० भन्दा बढी नयाँ उजुरी दर्ता भएका छन् । मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत तराईका रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा र सिन्धुलीबाट क्षेत्रीय कार्यालयमा बढी उजुरी दर्ता भएका छन् । उजुरीमा ती जिल्लाका स्थानीय निकायअन्तर्गतका गाविस, नगरपालिका, विद्यालय, स्वास्थ्यचौकी लगायतमा अनियमितता भएको आरोप लगाइएको छ ।
तराईका ११ जिल्लाबाट प्राप्त विभिन्न उजुरीको स्थलगतरुपमा छानबिन गर्न अहिले आयोगले अनुसन्धान अधिकृत, प्राविधिक, इन्जिनियर र प्रहरी अधिकृतको विभिन्न टोली बनाएर त्यसतर्फ पठाएको क्षेत्रीय कार्यालय मकवानपुरले जनाएको छ । क्षेत्रीय कार्यालयको कार्यक्षेत्र माध्यमाञ्चल विकास क्षेत्रका काठमाडौ, ललितपुर र भक्तपुरबाहेक अन्य १६ जिल्ला तोकिएको छ । हेटौंडामा गत असोज १ गते आयोगको मध्यमाञ्चलस्तरीय कार्यालय स्थापना गरिएको थियो ।
प्रतिक्रिया