‘लोकतन्त्रको संघर्ष जारी छ’

काठमाडौं, २३ मंसिर । नवनिर्वाचित सभासद् एवम् संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्बाङले लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्ने सङ्घर्ष जारी रहेको बताएका छन् ।

अमेरिकी सरकारको अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व कार्यक्रम (आइभिएलपी) मा सहभागी भई स्वदेश फर्केका मुलुकका विभिन्न व्यावसायिक क्षेत्रका व्यक्तिहरूको सङ्गठन आइभि अलुम्नाई एसोसिएसन नेपाल(आइभान)ले शनिवार आयोजना गरेको ‘नेपालमा प्रजातन्त्रको प्रवद्र्धन र विकास’ विषयक कार्यशालामा उनले यस्तो धारणा राखेका हुन् । लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन तथा जनआन्दोलनका उपलब्धिलाई जोगाउने आधार तयार गर्ने प्रयासमा राजनीतिक दलहरू रहेका उल्लेख गर्दै उनले विगतका अनुभवबाट सिकेर अघि बढ्न जरुरी भएको बताए ।
‘विगतका अनुभवबाट सिकौं, अप्ठयारो पर्‍यो भनेर पछि नपरौं,’ उनले भने । बितेका समयमा भएका परिघटनाबाट पाठ सिकेर अब जुनसुकै हालतमा संविधान बनाउनु पर्ने धारणा उनको छ । अमेरिकी कार्यबाहक राजदूत जोन एल कारवाइलले देशले आफूले के दियो भन्दा पनि आफूले देशलाई के दियौं भन्ने सोचका साथ नेपालीले राष्ट्र निर्माणको मार्गमा अग्रसर हुनुपर्ने विचार व्यक्त गरे ।
आइभानका अध्यक्ष तारानाथ दाहालले आइभान नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारको सेतु भएको उल्लेख गर्दैै त्यसलाई नेपालको विकास–निर्माणको प्रक्रियामा अझ रचनात्मक ढङ्गले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । आइभानका उपाध्यक्ष केदार खड्का र महासचिव कोपिला अधिकारीले आइभानका गतिविधिबारे जानकारी गराएका थिए ।
कार्यशालामा पूर्वसभासद् राधेश्याम अधिकारीले ‘नयाँ संविधानद्वारा लोकतन्त्रको सुदृढीकरण’, पत्रकार अच्युत वाग्लेले ‘नेपालको बृहत् आर्थिक वृद्धिका लागि समग्र विकास निकायको सहभागिता’, महिला अधिकारकर्मी दुर्गा घिमिरेले ‘महिला बेचबिखनविरुद्धको सङ्घर्ष’ र कानुन व्यवसायी दिनेश त्रिपाठीले ‘स्वतन्त्र एवम् निष्पक्ष संविधानसभा निर्वाचनका निम्ति चुनौती न्यूनीकरण’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया