गहुँको बीउ वितरण

इलाम : जिल्ला कृषि विकास कार्यालय इलामले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण सुरु गरेको छ । चुलाचुली, दानाबारी, धुसेनी, मंगलबारे, इलाम नगरपालिका, गजुरमुखी, इभाङ, साकफारा, शान्तिडाँडामा गहुँको बीउ वितरण गरेको जनाइएको छ ।
प्रत्येकवर्ष अन्य जिल्लाबाट बीउ खरिद गरेर ल्याउनुभन्दा जिल्लामै उत्पादन गर्दा सजिलो हुने र कम खर्चमा ढुवानी गर्न सकिने भएकाले कार्यालयले अनुदानमा किसानलाई बीउ उपलब्ध गराएको हो ।
यस वर्ष कृषि अनुसन्धान केन्द्र पाख्रिवास र तरहराबाट ०.८ टन र इलामकै चुलाचुलीबाट एक टन गहुँको बीउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराइएको कार्यालयका नासु नरनाथ रेग्मीले बताए ।
पाख्रिबासबाट डाँफे, डब्लुके १२०४ र तरहराबाट गौतम, एनएल २९७, एनएल १०७३ जातका गहुँ जिल्ला ल्याइएको छ । प्रतिकिलो ६० सम्म पर्ने गहुँको बीउ ३० मा किसानलाई उपलब्ध गराइएको रेग्मीले जानकारी दिए ।
गहुँबाली लगाउने समय सुरु भएकाले यसपटक चाँडै नै किसानलाई बीउ उपलब्ध गराइएको छ । धान काटेर थन्काइ सकेपछि गहुँखेतीको मौसम सुरु भएको छ ।
किसानले उत्पादन गरेको गहुँ जिल्ला कृषि विकास कार्यालयले खरिद गर्ने र जिल्लाकै अन्य किसानलाई अनुदानमा बिक्री गर्ने गरेको छ । गत वर्ष चार हजार छ सय २० हेक्टर क्षेत्रफलबाट १२ हजार ९२६ टन गहुँ उत्पादन भएको कार्यालयले जानकारी दिएको छ । (सौस)

प्रतिक्रिया