सभासद् माग्नेको लर्कोले नेतालाई हैरानी

काठमाडौं, २२ मंसिर । एमालेले समानुपातिकको बन्दसूचीमा परेका उम्मेदवारलाई सभासद् पद प्राप्तिका लागि नेताहरूको दैलो नचाहर्न निर्देशन दिएको छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले सभासद् पदका लागि ठूला नेतासमक्ष डेलिगेसन जाने, आग्रह/अनुरोध गर्ने र दबाब दिने कार्य छाडी जिल्ला फर्किन निर्देशन दिएको हो । दोस्रो संविधानसभा चुनाव सकिनासाथ बन्दसूचीमा नाम परेका देशभरका एमाले उम्मेदवार राजधानीमा केन्द्रित भएका छन् । सभासद् पद आºनो पक्षमा पार्न दलबलसहित उम्मेदवार राजधानीमा आइपुगेका हुन् । राजधानीकेन्द्रित उम्मेदवार दैनिक नेताका घर पुग्ने गरेका छन् ।
दैनिकजसो सभासद् बनाइमाग्न उम्मेदवार नेताको घरदैलोमा आउन थालेपछि एमालेका मुख्य नेता हैरानी भएका छन् । अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओलीको घरमा दिनभरजसो जिल्लाबाट आएका उम्मेदवारको भेला नै हुने गरेको छ । सभासद् पद दाबी गर्ने उम्मेदवारले हैरानी पारेपछि स्थायी कमिटीले तत्काल जिल्ला फर्कन सबै उम्मेदवारलाई निर्देशन दिएको हो ।
‘पार्टीले विवेक एवं औचित्यपूर्ण ढंगले निश्चित मापदण्डका आधारमा सभासद्को नामावली चयन र सिफारिस गरिनेछ,’ बैठकपछि पार्टी सचिव विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समानुपातिक सूचीका उम्मेदवार र समर्थकलाई अविलम्ब आºनो कार्यक्षेत्रमा फर्किन र पार्टीको परिभाषित काममा लाग्न निर्देशित गरिएको छ ।’
समानुपातिक उम्मेदवार चयन प्रक्रियामा केही जटिलता भएपछि बैठकले सोमबार केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । केन्द्रीय कमिटीको बैठकबाट समानुपातिक सभासद् चयनका लागि मापदण्ड निर्धारण गरिने एमालेले जनाएको छ । दोस्रो संविधानसभा चुनावमा प्रत्यक्षतर्फ ९१ सिट जितेको एमालेले समानुपातिकतर्फ ८४ सिट पाएको छ । निर्वाचन आयोगले पार्टीहरूलाई समानजुपातिकतर्फको अन्तिम नामावली बुझाउन २५ मंसिरसम्मको म्याद दिएको छ ।

प्रतिक्रिया