मुद्रण व्यवसायीद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, २२ मंसिर । सामुदायिक विद्यालयका पाठयपुस्तक छपाइ गर्न र बिक्री वितरणमा रोक लगाएको भन्दै मुद्रण व्यवसायीहरु आन्दोलनमा जाने धम्की दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल मुद्रण उद्योग महासंघका प्रतिनिधिहरुले उक्त धम्की दिएका हुन् ।
पत्रकार सम्मेलनमा नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष उदयनरसिंह बादे श्रेष्ठले मुद्रण व्यवसायीलाई सरकारले विभेद् गरेकाले निर्णय नसच्याए आफूहरु आन्दोलनमा जाने चेतावनी दिए ।
आगामी शैक्षिक सत्र सुरु हुन १ सय ४४ दिन बाँकी छ । कर्णाली अञ्चलमा भने फागनुदेखि शैक्षिकसत्र सुरु गरिसक्नुपर्ने नियम छ । सरकारले जारी गरेको २०६४ सालको वितरण छपाई निर्देशिकामा वैशाख १५ गतेभित्र सबै विद्यार्थीले पाठयपुस्तक पाउनुपर्ने उल्लेख गरिएको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जनाए ।सरकारले यसअघि सामुदायिक विद्यालयमा पढाइने कक्षा १ देखि ८ सम्मका पाठयपुस्तक छपाइ गर्न र बिक्री वितरण गर्न निजी क्षेत्रलाई अधिकार दिएको थियो । निजी क्षेत्रका लागि सरकारले यस वर्ष कक्षा १ देखि ३ सम्मका एक करोड ५३ लाख थान पाठयपुस्तक छपाइ गर्ने अधिकार दिएको छ ।
आगामी शैक्षिक सत्रका लागि सरकारले आफ्नो स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रलाई कक्षा ४ देखि १० सम्मका तीन करोड थान पुस्तक छपाइ गर्ने एकलौटी अधिकार दिएको छ ।

प्रतिक्रिया