काठमाडौ, २२ मंसिर । नव निर्वाचित प्रमुख चार दलका नेताहरुले एक वर्षभित्र सबै दललाई समेटेर सर्वमान्य संविधान निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मीरेस्ट नेपालद्वारा शुक्रबार आयोजित ‘संविधान निर्माण तथा राजनीतिक जवाफदेहिता’ विषयमा कार्यक्रममा एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले आफनो पार्टी शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रतिबद्ध रहेको बताउँदै चुनावको विश्वसनीयताका लागि मतगणनाको प्रक्रियाका बारेमा छानबिन गर्न माग गरे । उनले अग्रगामी परिवर्तनसहितको संविधान निर्माणका लागि पनि सहमति आवश्यक रहेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफनो पार्टी प्रतिपक्षमा बसेपनि संविधान निर्माणमा रचनात्मक भूमिका निर्वाह गन प्रतिबद्धता व्यक्त गरे ।
उनले विगतमा पार्टीगत संकीर्ण सोच र निषेधको राजनीतिले परिवर्तनका उपलब्धि संस्थागत गर्न नसकिएको भन्दै मध्यमार्गी वैचारिक धारमा उभिएर कांग्रेस र एमालले सबैलाई समेट्न सुझाव दिए ।
कांग्रेसका नेता डा. नारायण खड्काले नेपाली जनता सामाजिक सद्भावसहितको पहिचान र सामथ्र्यका आधारमा लोकतान्त्रिक संविधान चाहन्छ भन्ने जनादेश निर्वाचनबाट प्राप्त भएकोले आफ्नो पार्टी त्यस कार्यमा प्रतिबद्ध रहेको बताए ।
एमालेका नेता भीम आचार्यले एक वर्षभित्र विवादित विषयलाई सहमतिबाट टुंग्याउन नसके दुईतिहाइ वा जनमत संग्रहमा जानुपर्ने धारणा राख्दै जातीय र क्षेत्रीय विभाजनको राजनीति कुनै दलले गर्न नहुने बताए । उनले हालको परिपेक्ष्यमा सडक आन्दोलनको पनि कुनै औचित्य नभएको प्रष्ट पारे ।
कार्यक्रममा मीरेस्टका अध्यक्ष सुरेश आचार्यले सुशासन, जवाफदेहिता र स्थानीय शासनमा जनतालाई सुसूचित गर्न संस्थाले काम गर्दै आएको जानकारी गराए ।
प्रतिक्रिया