चितवन : चितवनमा डेङ्गु रोग परीक्षण गर्ने किटको अभाव भएपछि समस्या उत्पन्न भएको छ । डेङ्गु रोगका बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेका समयमा उक्त किटको समस्या भएको हो ।
डेङ्गु रोगको परीक्षण गर्दै आएको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा किटको अभाव देखिएको हो । विगत एक सातादेखि किट सकिँदा डेङ्गु परीक्षणको काम रोकिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए ।
चितवनमा अहिलेसम्म एक हजार ६ सय ९१ जनाको रगत परीक्षण गरिएकामा ३ सय १२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका कार्यकारी निर्देशकसहितको टोलीले चितवनको वस्तुस्थितिबारे अनुगमन गरेको थियो ।
किटका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पत्राचार गरिएको केसीले जानकारी दिए । चालु आर्थिक वर्षको साउनमा ७, भदौमा २०, असोजमा ५२, कात्तिकमा १ सय ७० र मङ्सिर १६ गतेसम्म ६३ जनामा डेङ्गु भेटिएको छ । गत आर्थिक वर्षमा ९ सय ४६ जनाको रगत परीक्षण गरिएकामा ५२ जनामा मात्र डेङ्गुको सङ्क्रमण भेटिएको थियो ।
प्रत्येक तीन/तीन वर्षमा डेङ्गुले महामारीको रूप लिने र यस वर्षको मौसम पनि डेङ्गुको प्रकोपका लागि अनुकूल भएकाले महामारीका रूपमा फैलिएको केसीले जानकारी गराए । यसअघि सन् २०१० मा पनि चितवनमा डेङ्गुले महामारीको रूप लिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । (सौस)
प्रतिक्रिया