चुनावमा सवा करोड क्षति भएको एमाले दोलखाको दाबी

Dolkhaदोलखा, २० मंसिर । संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा एमाले दोलखाको करिब सवा एक करोड बराबरको क्षति भएको जनाएको छ । नेकपा एमाले दोलखाले विधानसभाको दोस्रो निर्वाचनको क्रममा भएको क्षतिपूर्ति यथाशिघ्र उपलव्ध गराउन निर्वाचन आयोग र नेपाल सरकारलाई आग्रह गरेको छ ।

एमाले दोलखाले पत्रकार सम्मेलन गरी विपक्षी पार्टीहरूबाट गरिएको सांघातिक हमला, गोली प्रहार, आगजनी, तोडफोडबाट एक करोड १७ लाख बराबरको क्षति भएको दावी गरेको छ ।
विज्ञप्तिमा २६ वटा मोटरसाइकलमा आगजनी, ६ वटा मोटरसाइकल तोडफोड, २ वटा बोलेरो गाडी तोडफोड भएको उल्लेख छ । त्यसैगरी ६ वटा घर र एउटा पसलमा पनि टोडफोड भएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचनको क्रममा झडपमा परी ५० जना घाइते भएको र उनीहरूको उपचारमा ७ लाख खर्च भएको जनाइएको छ ।
एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा जनताको सम्पत्तिको क्षतिपूति यथाशिघ्र उपलव्ध गराउन निर्वाचन आयोग र नेपाल सरकारलाई आग्रह गरेको छ । उता एमाओवादीले पत्रकार सम्मेलन गरी दोलखाको १७ मतदान केन्द्रमा एमालेले बुथ कव्जा गरी सेनाको सहयोगमा चुनाव जितेको आरोप लगाएको थियो । दोलखाको दुबै क्षेत्रमा एमालेले जित हासिल गरेको थियो ।

प्रतिक्रिया