सत्ताको खेल छाडेर संविधान निर्माणमा लाग्न आग्रह

काठमाडौं, २० मंसिर । सत्ता र कुर्सीको खेल छाडेर संविधान निर्माणको दिशामा अघि बढ्नुपर्नेमा विभिन्न राजनीतिक दलका नेताहरुले जोड दिएका छन् ।

संवाद क्लबले बुधवार आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताहरुले संविधान मुलुकको साझा दस्तावेज भएकाले सबै राजनीतिक दलको सहमतिमा राष्ट्रिय सरकार गठन गरी यसको निर्माण गरिनुपर्ने बताए । उनीहरुले अन्तरिम संविधानमा व्यवस्था भएअनुरुप संविधान जारी भएपछि मात्रै राष्ट्रपति परिवर्तन गर्न सकिने भएकाले अहिले विवाद निकाल्नु अनावश्यक रहेको तर्क समेत अगाडी सारे ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले अहिले राष्ट्रपति परिवर्तनको कुरा उठाएर समय खेर फाल्नु जनादेश विपरीत हुने भएकाले चाँडो संविधान जारी गर्नेतर्फ लाग्नुपर्ने धारणा राखे । उनले संविधान साझा दस्तावेज भएकाले यसमा सबैको सहमति चाहिने र त्यसका लागि ठूलो पार्टी भएको हैसियतले काँग्रेसले संविधानसभाभित्र र बाहिरका दललाई समेट्न पहल गर्ने बताए ।
नेकपा माले का महासचिव सिपी मैनालीले जनादेशअनुरुप सरकार बनाउने दायित्व ठूलो पार्टीको हैसियतले काँग्रेसको हुने बताउँदै उनले सकेसम्म सबै दलहरुलाई समेटेर लैजानुपर्ने र त्यसो हुन नसके बहुमतीय प्रणालीमा भएपनि सरकार बनाउनुपर्ने धारणा राखे । नेता मैनालीले राष्ट्रपति परिवर्तनको कुरा असान्दर्भिक र संविधानत: असंवैधानिक रहेको तर्क गरे । यदि दलहरुले सहमति गरेको खण्डमा राष्ट्रपतिले स्वीकार गर्न पनि सक्नुपर्ने पनि उनले जीकिर गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले निर्वाचनको परिणामअनुरुप गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधर शक्तिलाई समेटेर लैजाने जिम्मेवारी काँग्रेस र नेकपा एमालेको काँधमा आएको बताए ।
नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधानसभा निर्वाचन धाँधलीपूर्ण भएकाले आयोग बनाएर छानबिन हुनु पर्ने धारणा राखे । सोही कार्यक्रममा नेकपा–माओवादीका नेता देवप्रसाद गुरुङले अहिलेको प्रक्रियाबाट जनताको संविधान बन्न नसक्ने र सबै वर्ग र समुदायको समस्या सम्बोधन नहुने भन्दै अब नयाँ सिराबाट राष्ट्रिय मुक्ति र स्वाधीनताको लागि सडक आन्दोलन थाल्नु पर्ने धारणा राखे ।
सर्वदलीय सहमति र गोलमेच सम्मेलन गरी नयाँ प्रकारको सहमति गरिनुपर्ने बताउँदै उन भने, एकीकृत नेकपा माओवादीसँग एजेन्डाका आधारमा सहकार्य हुनसक्ने भएपनि पार्टी एकताको कुनै संभावना छैन ।

प्रतिक्रिया