काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।
कोइराला निवास महाराजगञ्जमा आज (बुधबार) भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श भएको कांग्रेसले जनाएको छ । सरकार गठनका सम्बन्धमा दलहरुले आन्तरिक गृह कार्य गरिरहेका बेला कोइराला र थापाबीच भेटबार्ता भएको हो ।
पत्रकारसँग कुरागर्दै अध्यक्ष थापाले राष्ट्रपतिका बारेमा अहिले बिवाद गर्ने समय नभएको टिप्पणी गरे । ‘जनताले दिएको कार्यभारलाई पुरा गर्ने समय हो,’ उनले भने, ‘पहिला सहमतिमा संविधान बनाउने तर्फ जोड दिनु पर्छ ।’
अध्यक्ष थापाले सबै राजनीतिक दललाई मिलाएर सरकार निमार्ण गर्न सभापति कोइरालालाई आग्रह गरे । ‘लोकतान्त्रिक संविधान निमार्ण गर्नु अहिलेको मुख्य कार्यभार हो,’ थापाले भने, ‘सबै राजनीतिक शक्तिलाई मिलाएर अघि बढ्नुको बिकल्प छैन ।’
जवाफमा सभापति कोइरालाले सबैलाई मिलाएर अघि बढ्न कांग्रेस तयार रहेको बताए । ‘कांग्रेस सबै दलको सहयोगमा सरकार बनाई संविधान निर्माण गर्ने पक्षमा छ,’ उनले भने ।
यसैबीच, आजै सभापति कोइरालासँग नेपालका लागि पाकिस्तानी राजदूत अर्सद सायद खोसाले पनि पनि भेट गरेका छन् । उनले कांग्रेसलाई बधाई दिनुका साथै शान्ति र संविधानमा पाकिस्तानको सहयोग रहेको बताए ।
प्रतिक्रिया