काठमाडौं, १९ मंसिर । कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत चाल्र्स कारवाईलबीच भेटवार्ता भएको छ ।
उपसभापति पौडेलको निवास बोहोराटारमा आज (बुधबार) भएको भेटवार्तामा निर्वाचनको सफलता, दलहरुबीच भैरहेको सहमतिको प्रयास सहित सरकार गठन र संविधान लेखन लगायतका पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो ।
कार्यवाहक राजदूत चाल्र्सले संविधान सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिए । उनले दलहरुबीचको सहमतिबाट सरकार तथा संविधान निर्माण हुने विश्वास व्यक्त गरेको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
निर्वाचनका क्रममा अन्तर्राष्ट्रिय समुदायबाट भएको सहयोगप्रति आभार व्यक्त गर्दै पौडेलले सफलतापूर्वक निर्वाचन सम्पन्न भएकाले निर्वाचनबाट प्राप्त जनादेशका आधारमा सहमतिमा सरकार गठन हुने बताए । उनले संविधान लेखनपनि सहमतिकै आधारमा अघि बढाउने जनाए ।
निर्वाचन परिणामप्रति असन्तुष्ट दलहरुसंग पनि छलफल गरी संविधान भित्र र बाहिर रहेका दलहरुबीच संवाद तथा सहमतिको प्रयास गरिने उपसभापति पौडेलले बताए ।
प्रतिक्रिया