मंगलबारे (इलाम), १९ मंसिर । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचनपछि मुलुकमा शान्ति र नयाँ संविधान सुनिश्चित भएको बताएका छन् ।
इलामको बाँझो गाविसको माङसेबुङस्थित किरात धार्मिक गुरू आत्मानन्द लिङ्देनको ६० औं जन्मोत्सवका अवसरमा मंगलवार आयोजित कार्यक्रममा उनले भने “संविधानसभाको निर्वाचनले देशलाई नयाँ गतितर्फ लगेको छ, अब देशमा शान्ति र स्थायित्व कायम हुन्छ ।” अध्यक्ष रेग्मीले संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गरेकोमा सबैलाई धन्यवादसमेत दिए ।
इलामको विकास र धार्मिक क्षेत्रमा उल्लेख्य प्रगति भइसकेको चर्चा गर्दै उनले झापाको दमकहुँदै रबिसम्म पुग्ने फाल्गुनन्दमार्गको स्तरोन्नतिका लागि पहल गर्ने बचनसमेत दिए ।
सो अवसरमा सभासद् सुवासचन्द्र नेम्वाङले इलाम क्षेत्र नं २ विकासको दृष्टिले पछि परेको हुनाले विकासमा सरकारले ध्यान दिन आग्रह गरे । लिङदेनको जन्मोत्सवमा स्विडेन, भारत, भुटान, हङकङ र व्रिटेनबाट समेत पाहुना उपस्थित छन् । सो अवसरमा विभिन्न लिम्बूजातिको संस्कृति झल्कने नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गृहमन्त्री माधवप्रसाद घिमिरे, स्थानीय विकासमन्त्री विद्याधर मल्लिक, मुख्य सचिव लिलामणि पौडेल, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया