काठमाडौं, १९ मंसिर । विभिन्न राजनीतिक दलका नेताहरूले सरकार गठन र संविधान निर्माण प्रक्रियामा सबै दलको सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।मंगलवार आयोजित साक्षात्कारमा नेपाली कााग्रेसका नेता डा. मीनेन्द्र रिजालले जनताको मतअनुसार नेपाली काँग्रेसले सहमतीय सरकारको नेतृत्व गर्ने र सबै राजनीतिक दलको सहमतिमा प्रधानमन्त्री बनाउने तथा राजनीतिक सहमतिका साथ संविधान पारित हुने धारणा राखे ।
डा रिजालले सहमति नभएमा मात्रै बहुमतका आधारमा सरकार गठन हुने र संविधान पनि दुई तिहाई बहुमतबाट पारित हुने धारणा राखे । उनले अहिलेको संविधानसभामा १४ प्रतिशत उपस्थिति रहेको एमाओवादीले ८५ प्रतिशत रहेका अन्य राजनीतिक दललाई आफ्नो विचार लाद्न खोजेको आरोप लगाउँदै आफूले भनेअनुसार संविधान संशोधन भएमा संविधानसभामा सहभागी हुने र नभएमा सहभागी नहुने जिकिर गर्न नसुहाउने बताए । एकीकृत नेकपा माओवादीका नेता पोष्टबहादुर बोगटीले संविधानसभा निर्वाचन निष्पक्ष नभएको र धाँधली भएका प्रमाण आइरहेको बताउँदै त्यसको स्वतन्त्र छानबिन समिति गठन नगरेसम्म र सहमतिमा संविधान जारी गर्ने प्रावधान नभएसम्म संविधानसभामा सहभागी हुने वा नहुने बारेमा सोच्न बाध्य हुने जीकिर गरे ।
नेकपा एमालेका नेता भीम रावलले राजनीतिक दलहरूबीच सहमति कायम गरेर छिटोभन्दा छिटो जनतालाई संविधान दिनुपर्ने उल्लेख गर्दै यथाशीघ्र स्थानीय निर्वाचन गरेर जनतालाई अधिकार सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले अब पनि नेपाली जनतालाई संविधान दिन नसके जनमतको अपमान हुने र देशमाथि पनि अन्याय हुने उल्लेख गर्दै सबै राजनीतिक दलले जतिसक्दो चाँडै संविधान बनाउने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री दीपक बोहराले संविधानको निर्वाचन परिणामअनुसार नेपाली काँग्रेस ठूलो रहेकाले उसकै नेतृत्वमा सहमतीय सरकार गठन गरेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए ।
उनले वर्तमान अवस्थामा राष्ट्रपति परिवर्तन गर्नुको कुनै औचित्य नभएको स्पष्ट गर्दै एमाओवादी र नेकपा–माओवादी समेत संविधानसभामा सहभागी हुनुपर्ने बताए । प्रमुख राजनीतिक दलहरुबीच सहमतिका आधारमा संविधान निर्माण गर्नुपर्ने तर्क गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता चन्द्रबहादुर गुरुङले आफ्नो पार्टी प्रतिपक्षमा बसेर सशक्तरुपमा संविधानसभामा जनताका आवाज बुलन्द गर्ने धारणा राखे ।
प्रतिक्रिया