काठमाडौं : नेपाल खाद्य संस्थानले यस वर्ष २८ हजार पाँच सय टन धान किसानहरु संग खरिद गर्ने जनाएको छ । किसानलाई उचित मूल्य दिएर मंसिरमा धेरै भन्दा धेरै धान खरिद गर्ने स्पष्ट नीति अघि सारेको छ ।
संस्थानको ३९औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा पछिल्लो समय संस्थाको आर्थिक अवस्था धरासायी बन्दै गएकाले त्यसमा सुधार ल्याउन धान खरिद गरी आफ्नै मिलमा कुटान गररे बिक्री गर्ने जनाएको छ । धान कुटान गरी बिक्री गर्दा लगत मूल्यभन्दा दोब्बर फाइदा हुन गई संस्थाको आर्थिक पक्षमा निकै छोटो समयमै उल्लेख्य सुधार आउने निष्कर्षसमेत निकालिएको छ । त्यसका लागि खाद्य संस्थानले यस वर्ष बाँके, बर्दिया र कैलालीबाट मात्र १६ हजार टनभन्दा बढी धान किन्ने तयारी गरिरहेको छ ।
संस्थानले आगामी चार वर्षभित्रमा वस्तु तथा सेवामा विधिधिकरण गर्ने उद्देश्यका साथ चामलका अतिरिक्त गेडागुडी र दाल गरी पन्ध्र किसिमका वस्तुको खरिद बिक्री गर्ने नीतिसमेत अबलम्वन गरी कार्यान्वयनमा ल्याउने तयारीसमेत गरिरहेको छ । दुर्गम तथा हिमाली क्षेत्रका किसानको आर्थिक अवस्थामा सुधार ल्याउन उनीहरुका उत्पादनलाई बजारसम्मको ढुवानी व्यवस्थाका साथै खरिद गर्ने सोचसमेत संस्थानले अघि बढाएको छ । यो नीतिले हिमाली तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने फापर, जौ, आलु, गहुा, मकै र कोदो जस्ता खाद्य वस्तु सहजै बजारमा पुग्ने अपेक्षा गरिएको छ ।
संस्थानले दुर्गम जिल्लामा चामल ढुवानीमा लाग्दै आएको अत्यधिक भाडादरलाई कम गर्न वर्षायाम सुरु हुनु अघि नै सडक यातायातमार्फत ढुवानी गर्ने नीतिलाई प्राथमिकताका साथ लागू गर्ने कार्ययोजना अघि सारेको छ । सरकारले नेपाल संस्थालनलाई दुर्गमका २३ जिल्लाका सर्वसाधारण जनतालाई सहुलियत मूल्यमा चामल उपलब्ध गराउन यसवर्ष ४६ करोड ५३ लाख रुपियाँ ढुवानी अनुदान रकम उपलव्ध गराएको छ ।
ती जिल्लाका लागि संस्थानले प्रत्येकवर्ष १४ हजार एक सय ५० टन चामल खरिद गरी बिक्री वितरण गर्दै आएको छ । खाद्य संस्थानले ढुवानीमा गैर अनुदानमा ११ हजार छ सय ५० टन चामल खरिद गरी काठमाडौं उपत्यकासहित मुलुकका अन्य सुगम जिल्लामा बिक्री गर्दै आएको छ । (सौस)
प्रतिक्रिया