१६ दल निर्वाचन आयोग नजाने

काठमाडौं, १८ मंसिर । चुनावी परिणामप्रति असन्तुष्ट १६ राजनीतिक दलले निर्वाचन आयोगको कार्यक्रम बहिष्कार गर्ने भएका छन् ।

एमाओवादीसहितका १६ दलले समानुपातिक प्रणालीतर्फ दलहरूले पाएको मत र पाउने सिटबारे जानकारी दिन आयोगले आजका लागि बोलाएको बैठक बहिस्कार गर्ने निर्णय गरेका हुन् । दोस्रो संविधानसभा चुनावमा धाँधली भएको प्रमाण फेला परे पनि उच्चस्तरीय छानविन आयोग गठनको मागलाई बेवास्ता गरेको भन्दै आयोगको बैठक बहिस्कार गर्न १६ दल एकमत भएका हुन् । बैठकले १६ दलबाट प्रत्यक्षतर्फ विजयी उम्मेदवारहरूलाई संविधानसभामा नपठाउने र समानुपातिकका लागि नाम नदिने निर्णयसमेत गरेको छ ।
संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले आफ्ना मागहरूको बेवास्ता गर्दै आयोगले बोलाएको बैठकप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । ‘मतदान सुरु भएपछि र मतगणना सुरु नहुँदैका बीचको अवधिमा गम्भीर आशंका उठेका छन्,’ महासचिव श्रेष्ठले सौर्यसँग भने, ‘ती आशंका मेटाउन हामीले छानबिन आयोग गठनको माग गरेका छौं । हाम्रा मागलाई बेवास्ता गरेकाले भोलि (मंगलबार)को बैठक बहिष्कार गर्ने निर्णय गरियो ।’
उनले चुनावमा धाँधली भएको कुरा सम्बन्धित पक्षले नै पुष्टि गर्दै गएको दाबीसमेत गरे । ‘हाम्रा माग कुनै पद या कुर्सीका लागि उठाइएको होइन, चुनावमा जुन शंका उपशंका उब्जिएका छन् त्यसलाई मेटौं भनेर मात्रै हो,’ उनले प्रश्न गरे, ‘यदि धाँधली नै नभएको भए छानबिन आयोग गठन गर्दा नै के हुन्थ्यो र ?’
उनले बैठकमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीकै विषयमा पनि छानबिन गरिनुपर्ने कुरा उठेको जानकारी पनि दिए । बैठकमा केही सहभागीले उप्रेतीको भूमिकामाथि नै शंका गर्दै छानबिन गरिनुपर्ने आवाज उठाएको उनको भनाइ थियो ।
एमाओवादी नेता देवेन्द्र पौडेलले चुनावको विषयमा उठेको प्रश्न राज्यसँग भएकाले राज्यले जवाफ दिनै पर्ने बताएका छन् । ‘चुनावका विषयमा यत्रतत्र प्रश्न उठेका छन् । यसबारे सम्बन्धित पक्षले जवाफ दिनै पर्छ,’ नेता पौडेलले सौर्यसँग भने, ‘नेपाल सरकार, निर्वाचन आयोग र सुरक्षा संयन्त्रका विषयमा उठेको शंकाबारे मात्रै हामीले जवाफ मागेका हौं ।’
यसअघि आयोग कार्यालय पुगेको असन्तुष्ट दलका नेताहरूलाई प्रमुख आयुक्त उप्रेतीले छानबिन अधिकार आफूसँग नभएको भन्दै अदालत जान सुझाव दिएका थिए । नेता पौडेलले भने आयोग गैरजिम्मेवार बन्न नहुने स्पष्ट पार्दै चुनावको विषयमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित पक्षबाट नआए स्थिति असामान्यतिर धकेलिने बताए ।
आयोगले आइतबार सार्वजनिक सुचनामार्फत दलहरूले पाएको मत र पाउने सिटबारे जानकारी दिन मंगलबार बैठक आह्वान गरेको थियो । १६ दलले बुधबार अर्को बैठक बोलाएर आगामी कार्यक्रमका विषयमा योजना बनाउने निर्णयसमेत गरेका छन् । सोमबारको बैठकमा एमाओवादी, फोरम नेपाल, तमलोपा, संघीय समाजवादी, फोरम गणतान्त्रिकलगायत १६ दलका नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया