क्रिकेट खेलाडीलाई १० लाख

काठमाडौं, १८ मंसिर । सरकारले नेपाललाई आइसिसी वल्र्डकप टी–२० प्रतियोगितामा पुर्‍याउने खेलाडीलाई पुरस्कारस्वरूप १०/१० लाख रूपैयाँ उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली टोलीका १५ खेलाडीलाई १०/१० लाख, प्रशिक्षकलाई ५ लाख र व्यवस्थापक, फिजियो थेरापिस्टसहितका अन्य साढे तीन लाखका दरले नगद पुरस्कार दिने निर्णय गरेको हो । आइसिसी विश्वकप टी ट्वान्टी प्रतियोगितामा प्रवेश पाएको नेपाली टोलीले छनोट चरणमा तेस्रो स्थानसमेत प्राप्त गरेको छ । सरकारले प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बधाई ज्ञापनसमेत गरेको छ ।
नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्ने र नेपालमा क्रिकेटको विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने सम्बन्धमा योजना तयार गरी सरकारसमक्ष प्रस्तुत गर्न युवा तथा खेलकुद मन्त्रालयलाई बैठकले निर्देशनसमेत दिएको छ । आइसिसी विश्वकप टी–ट्वान्टी प्रतियोगिताका लागि नेपाली टिमले गर्ने तयारीबारे आवश्यक कार्ययोजना प्रस्तुत गर्न पनि मन्त्रालयलाई निर्देशन दिइएको छ ।
युएईको आबुधावीमा सम्पन्न खेलमा हङकङलाई ५ विकेटले हराउदै नेपालले विश्वकपको यात्रा तय गरेको हो । त्यस्तै, युएईलाई ५ विकेटले हराएर छनोट चरणमा तेस्रो स्थान कब्जा गरेको हो । नेपाली क्रिकेट टोली ऐतिहासिक सफलता प्राप्त गरी आइतबार स्वदेश फर्किइसकेको छ ।

प्रतिक्रिया