बसचालक निदाउँदा…

Dadeldhura-Bus-Accidentधनगढी, १७ मंसिर । डडेलधुराको गाखेत गाविसमा आइतबार बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ३४ यात्रु घाइते भएका छन् ।

बाजुराबाट धनगढी आउँदै गरेको ना ५ ख ७८९ नंम्बरको बस बिहान साढे ५ बजेतिर भीमदत्त राजमार्गअन्तरगत पर्ने गांखेत ८ मेलखर्कमा दुर्घटना भएको डडेलधुरा प्रहरीले जनाएको छ । दुर्घटनामा २ महिला र ८ पुरुषको घटनास्थलमै तथा तीन जनाको उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी बीरेन्द्र बस्यालले जानकारी दिए । घटनास्थल पुगेका एसपी बस्यालका अनुसार बस चालक थिरबहादुर कडायत सुतेका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । बस सडकबाट १ सय ५ मिटर तल खसेको थियो ।
घाइतेलाई उद्धार गरी उपचारका लागि कैलालीको अत्तरियास्थित पद्मा अस्पताल लगिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मुगुको चैना ५ का अमृत सार्कीलाई थप उपचारका लागि भारतको लखनऊ रिफर गरिएको अस्पतालले जानकारी दिएको छ । अन्यको स्वास्थ्य अवस्था चिन्तामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
मृतकमध्ये सात जनाको सनाखत भएको क्षेत्रीय ट्राफीक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बाजुराको बाँधु ७ का २२ वर्षीय सुरबहादुर अधिकारी, २३ वर्षीय दलबहादुर अधिकारी, ३० वर्षीय हरिलाल खत्री र ३० वर्षीय भक्तबहादुर सार्की अनि बाजुराकै कैलाशमाण्डौं ८ का ३२ वर्षीय लक्ष्मीराम थापा, मार्तडी २ का ४० वर्षीया दीर्घमति पण्डित र १९ वर्षीया रमा पण्डित छन् ।
४२ सिट क्षमता भएको उक्त बसमा चालक, सहचालक, सहयोगी गरी ४७ जना सवार रहेको पाइएको एसपी बस्यालले बताए । ‘बस चालक कडायतको टाउकोमा चोट लागेको र उनलाई उपचारपछि जिल्ला प्रहरी कार्यालय डडेल्लधुराले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ,’ एसपी बस्यालले भने ।
दुर्घटना भइरहने यो पहाडी राजमार्गमा १० महिनायताको सबैभन्दा ठूलो दुर्घटना हो । सडक पनि राम्रो र सिधा छ । घटनास्थल अवलोकन गर्दा चालक सुतेको खुल्न आएको बस्यालले बताए । दुर्घटनाको खबर थाहा पाउनेबित्तिकै घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीवासीले उद्धार गरेको डडेलधुराका प्रहरी निरीक्षक केशव बोहराले बताए ।

प्रतिक्रिया