आलम हत्याका तीन आरोपित थुनामा

कलैया, १७ मंसिर । एमालेका तर्फबाट बारा क्षेत्र नम्बर ४ मा उम्मेदवार दिएका महमुद आलमको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वसभासद् रामचन्द्र प्यासी कुसवाहासहित तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

बारा जिल्ला अदालतको आदेशपछि आइतबार थप अनुसन्धानका लागि उनीहरुलाई जेल चलान गरिएको हो । दोस्रो संविधासनभा चुनावमा बारा ४ मा प्रत्यक्षतर्फ एमाले उम्मेदवार रहेका आलममाथि १८ असोजमा गोली प्रहार भएको थियो । आलमलाई राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा २४ असोजमा मृत घोषणा गरिएको थियो ।
गोली प्रहारमा संलग्न रहेको अभियोगमा प्रहरीले ९ कात्तिकमा पूर्वसभासद् प्यासी, भारत अलिगढ घर भई वीरगन्ज–४ मा बस्दै आएका अतिक खान र भारत रक्सौल बस्ने राजु श्रीवास्तव तीन जनालाई पक्राउ गरेको थियो । प्यासी घटनाको मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ ।
तीन दिनदेखि बारा जिल्ला अदालतमा यस घटनाको थुनछेकका लागि वादीका तर्फबाट सरकारी वकिल र प्रतिवादीका तर्फबाट १५ जना कानुन व्यवसायीले बहस गरिरहेका थिए ।
आलमको हत्यापछि उक्त क्षेत्रमा उनकै पत्नी नजमा खातुनलाई एमालेले उम्मेदवार बनाएको थियो । नजमाले उक्त क्षेत्रबाट १२ हजार ३ सय ६१ मत लिएर दोस्रो संविधानसभामा प्रतिनिधित्व गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनीलकुमार गुप्ता कलवारले ७ हजार ३ सय ९६ मत ल्याएका थिए ।

प्रतिक्रिया