स्थानीय उत्पादनलाई बढावा दिन नीति

काठमाडौं : मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले स्वदेशी उत्पादन प्रवद्र्धन तथा स्थानीय उत्पादनलाई बढावा दिन सरकारले ठोस नीति ल्याउने बताएका छन् ।
प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी ११ औा हस्तकला मेला तथा नवौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनीको आइतवार अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हस्तकला उत्पादन प्रवद्र्धनका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए । नेपाली हस्तकलाको प्रवद्र्धन तथा गुणस्तर अभिवृद्धि गरी विश्वव्यापीकरण गर्न सरकारले आवश्यक पहल गर्ने विश्वास दिलाउँदै अध्यक्ष रेग्मीले उत्साहपूर्वक हस्तकला मेलाको अवलोकन गर्नुका साथै स्थानीय उत्पादनका बारेमा जानकारी लिएका थिए ।
नेपाल हस्तकला महासङ्घको आयोजनामा यही मंसिर १२ गतेदेखि सुरु भएको मेला तथा प्रदर्शनीमा २०० भन्दा बढी व्यावसायिक कक्ष राखिएको छ । मेलामा शनिवारसम्म एक लाख ८० हजारले अवलोकन गरिसकेका छन् भने करिब पाँच करोडको कारोबार भएको आयोजकले जनाएको छ । स्वदेशी हस्तकलाका वस्तुको पहिचान गरी अन्तर्राष्ट्रिय बजारीकरण गर्ने तथा घरेलु बजारमा पनि यसको प्रयोग गराउने उद्देश्यले मेलाको आयोजना गरिएको मेलाका संयोजक एवम् नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष धर्मराज शाक्यले बताए । (सौस)

प्रतिक्रिया