‘सबैलाई समेटेर नयाँ सरकार’

विराटनगर, १७ मंसिर । काग्रेस केन्द्रीय सदस्य एवम् नवनिर्वाचित सभासद् शेखर कोइरालाले संविधानसभा निर्वाचनमा नेपाली काग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले अन्य पार्टीलाई समेत समेटेर सरकारको नेतृत्व गर्ने बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा आइतबार सञ्चारकर्मीलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले सबै दलको सहमति एवम् सहकार्यमा छिटै सरकारको गठन गर्ने बताए । यस निर्वाचनले जातीय आधारमा संघीयता बनाउने राजनीतिक एजेण्डा पराजित भएको उल्लेख गर्दै नेता कोइरालाले सबै जातजातिको पहिचान सम्बोधन हुने गरी लोकतान्त्रिक संविधान निर्माण हुने धारणा राखे । उनले भने, शासकीय स्वरुप एवम् सङ्घीयताको विवाद समाधानका लागि दलबीच सहमति खोज्ने, नभए दुई तिहाई बहुमतबाट समाधान गर्ने र त्यसो गर्दा पनि सहमति नभएमा जनमत सङ्ग्रहमा जान सकिन्छ । उनले एकीकृत माओवादीसँग छलफल गरी संविधानसभामा सहभागी गराउने विश्वास व्यक्त गर्दै नेकपा–माओवादीसाग पनि सहकार्य गरी एक वर्षभित्र सबैलाई मान्य हुने संविधान लेखिने दावी गरे ।
नेता कोइरालाले राष्ट्रपति एवम् उपराष्ट्रपतिको पदावधि अन्तरिम संविधानमा उल्लेख नभएको हुनाले संविधान जारी नहुन्जेलसम्म त्यो पदमा उनीहरु रहने जीकिर गरे ।

प्रतिक्रिया