काठमाडौं, १७ मंसिर । सुचना प्रवाहलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले एकीकृत माध्यमका रूपमा ‘नेसनल पोर्टल’सञ्चालनमा ल्याएको छ ।
सूचना तथा सञ्चार प्रविधिमा आएको विकासलाई आत्मसात् गर्दै सरकारले प्रदान गर्ने सार्वजनिक सेवालाई छिटो छरितो र पारदर्शी बनाउने सन्र्दभमा ‘नेसनल पोर्टल’ नामक सो वेबसाइट सञ्चालनमा ल्याएको हो । ‘नेसनल पोर्टल’ ले सार्वजनिक सेवा प्रवाहमा सूचना प्रवाहको राजमार्गका रूपमा काम गर्ने बताइएको छ । विभिन्न निकायले प्रदान गर्ने भिन्न प्रकृतिका सेवालाई एउटै माध्यमबाट छिटो छरितो भरपर्दो र एकद्वार प्रणालीमार्फत प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
सरकारका विभिन्न निकायले सूचना सम्प्रेषण गर्ने उद्देश्यले विकास गरेका पोर्टलहरू कृषि, शिक्षा, स्वास्थ्य र वातावरणका गतिविधि यसैको माध्यमबाट सम्प्रेषण हुने व्यवस्था मिलाइएको बताइएको छ । सरकारी निकायले प्रदान गर्ने सेवा तथा पूर्वाधार विकासका कार्यलाई बढीभन्दा बढी विद्युतीय माध्यमबाट अघि बढाउने प्रयास गरिरहेको सिलसिलामा ‘नेसनल पोर्टल’ सञ्चालनले सेवा प्रवाह भरपर्दो र प्रभावकारी हुने विश्वास गरिएको छ । सेवाग्राहीले ‘नेसनल पोर्टल’ गएर ‘डब्लुडब्लुडब्लु डट नेपाल डट निओभी डट एनपी’ टाइप गरेपछि आफ्नो आवश्यकता र रुचीका विषय छान्नसक्ने व्यवस्था मिलाइएको छ ।
प्रत्येक निकायले सङ्कलन गरेका सूचना तथा तथ्याङ्क अर्को निकायले प्रयोग गर्न कठिनाइ भइरहेको अवस्थामा साझा मापदण्ड तयार गर्नुपर्ने आवश्यकता महसुस गरी गर्भमेन्ट इन्टरप्राइज आर्किटेक्चर तथा विभिन्न निकायबीचको अन्तर आबद्धता तयार गरी लागू गर्ने चरणमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यो व्यवस्था लागू भएपछि एक निकायसाग भएको सूचना तथा तथ्याङ्क अर्को निकायले सहजै प्रयोग गर्न सक्ने बताइएको छ ।
सो ‘नेसनल पोर्टल’को सञ्चालनको शुभारम्भ गर्दै मुख्यसचिव लीलामणि पौडेलले सरकारी सूचना तथा सेवालाई प्रभावकारी रूपमा सम्प्रेषण गर्ने महत्वपूर्ण माध्यमका रूपमा रहने विश्वास ब्यक्त गरे । ‘नेसनल पोर्टल’को व्यवस्थापन राष्ट्रिय सूचना प्रविधि केन्द्रले गर्ने भएकाले सबै मन्त्रालयमा सूचनाको अद्यावधिक गर्ने व्यवस्था मिलाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिए ।
प्रतिक्रिया