समानुपातिक सिट आज बाँडिँदै

Elecatation Commisationकाठमाडौं, १६ मंसिर । निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत राजनीतिक दलले पाउने सिट संख्याको अन्तिम टुंगो आज लगाउने भएको छ ।

आयोगले देशभरबाट समानुपातिक चुनावअन्तर्गत खसेको मतलाई पुन: जाँच गरेर दलहरूले पाउने सिट संख्या निर्धारण गर्न लागेको हो । ‘सबै गणना भएको मतको जाँच र पुन:जाँच भइरहेको छ,’ आयोगका प्रवक्ता वीरबहादुर राईले भने, ‘यो काम सकिनेबितिकै दलहरूले पाउने सिट संख्या निर्धारण गर्छांै ।’
संविधानसभा चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैमा पहिलो स्थान कायम गरेको कांग्रेसले ९१, एमालेले ८५, एमाओबादीले ५४ र राप्रपा नेपालले २३ सिट समानुपातिकबाट हात पार्ने अनुमान गरिएको छ । प्रत्यक्षतर्फ कांग्रेसले १०५, एमालेले ९१, एमाओवादीले २६, फोरम लोकतान्त्रिकले ४, राप्रपाले ३, फोरम नेपालले २, तमलोपाले ४, सद्भावना पार्टी, नेमकिपा र तराई मधेस सद्भावना पार्टीले १/१ सिट ल्याएका छन् ।
आयोगका अनुसार समानुपातिकमा कांग्रेसले २४ लाख १८ हजार ३ सय ७०, एमालेले २२ लाख ३९ हजार ६ सय ९, एमाओवादीले १४ लाख ३९ हजार ७ सय २६, राप्रपा नेपालले ६ लाख ३० हजार ६ सय ९७ मत पाएका छन् । त्यस्तै, फोरम नेपाल लोकतान्त्रिकको २ लाख ७४ हजार ९ सय ८७, राप्रपाको २ लाख ६० हजार २ सय ३४, फोरम, नेपालको २ लाख १४ हजार ३ सय १९, तमलोपाको १ लाख ८१ हजार १ सय ४०, सद्भावना पार्टीको १ लाख ३३ हजार २ सय ७१, नेकपा मालेको १ लाख ३० हजार ३ सय र संघीय समाजवादीको १ लाख २१ हजार २ सय ७४ मत छ ।
आयोगले सेन्टलग फरमुलाअनुसार सिट संख्या वितरण गरिने जनाएको छ । यसरी सिट संख्या वितरण गर्दा ३० दलले मात्र संविधानसभामा समानुपातिकको संख्या पाउनेछन् । समानुपातिकतर्फ साढे १८ हजारभन्दा बढी मत ल्याउने दलले सिट संख्या पाउन सक्ने अनुमान गरिएको छ । १८ हजारभन्दा बढी मत ल्याउने दलको संख्या भने ३२ छ ।
दोस्रो संविधानसभा चुनावमा १ करोड २१ लाख ४७ हजार ८ सय ६५ कुल मतदाता थिए । त्यसमध्ये समानुपातिकतर्फ ९४ लाख ६३ हजार ७ सय ६३ मत सदर भएको तथ्यांक आयोगले सार्वजनिक गरिसकेको छ । प्रत्यक्षतर्फ ९० लाख ४० हजार ४ सय ५१ मत खसेको थियो ।
चुनावमा खटिने सुरक्षाकर्मी, कर्मचारी, कारागार, सुरक्षा निकायका ब्यारेक र वृद्धाश्रममा राखिएका अस्थायी मतदान केन्द्रमा समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको थियो । जसकारण प्रत्यक्षभन्दा समानुपातिक मतसंख्या बढी भएको आयोगले जनाएको छ । चुनावमा निजामती र सुरक्षाकर्मी गरी झन्डै साढे ४ लाख जनशक्ति परिचालित थिए । सदर मतको मात्र हिसाब गर्दा प्रत्यक्षमा भन्दा समानुपातिकमा ४ लाख २३ हजार ३ सय ३२ मत बढी देखिन्छ । ०६४ को चुनावमा पनि प्रत्यक्षमा भन्दा समानुपातिकतर्फको सदर मत बढी थियो ।

प्रतिक्रिया