‘धाँधलीको छानबिन नभएसम्म संविधानसभामा जाँदैनौं’

काठमाडौं, १६ मंसिर । एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनको क्रममा भएका प्रक्रियागत, नीतिगत, संरचनागत र संस्थागत धाँधलीको छानबिन नगरी कुनै पनि हालतमा आफ्नो पार्टी संविधानसभामा सहभागी नहुने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित नियमित प्रवक्ता–सञ्चारकर्मी भेटका अवसरमा प्रवक्ता अग्निप्रसाद सापकोटाले परिवर्तनकारी शक्तिलाई प्राविधिक रूपमा पराजित गर्न अवलम्बन गरिएका सबै खालका गतिविधिको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने बताए । छानबिन आयोग गठन गरिए सो आयोगले दिने प्रतिवेदनका आधारमा मात्र आफ्नो पार्टी संविधानसभामा सहभागी हुने बताउँदै उनले अन्यथा जनतासामु जानुको विकल्प आफ्नो पार्टीसँग नभएको जीकिर गरे ।
निर्वाचन आयोगले लाहाछाप नभएको मतपेटिकाबाट मत गणना गर्न दबाब दिनु, मतपेटिका सहजै ल्याउने सकिने स्थानमा पनि लामो समय लगाउनु, मतदानमा राखिएको मतपेटिका मतगणना स्थलमा नदेखिनु, राजनीतिक दलका प्रतिनिधि बेगर मतपेटिकाको ढुवानी गरिनु, मुचुल्काको कागजात नमिल्नुलगायतका घटनाक्रमले निर्वाचनमा धाँधली भएको हो भन्ने पुष्टि भएको उनको दावी थियो । आफ्नो पार्टी संविधानसभामा सहभागी नहुने भएपछि सरकारमा सहभागी हुने कुरा त झनै टाढाको विषय भएको भन्दै उनले काँग्रेस र एमालेका नेताहरूले गरेको प्रचारको कुनै अर्थ नभएको तर्क गरे ।
नयाँ अवस्थामा राष्ट्रपति र उपराष्ट्रपति पुरानै व्यक्ति हुनुपर्छ भन्ने तर्क पनि अमिल्दो भएको बताउँदै उनले नयाँ परिवेशमा राष्ट्रको उच्च पदमा पनि नयाँ व्यक्ति नै हुनुपर्ने धारणा राखे । प्राविधिक रूपमा आफ्नो पार्टीलाई हराइएपनि जनताको नजरमा आफ्नो पार्टी नै ठूलो पार्टी रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया