काठमाडौं : नेपाली काँग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले नेपाली जनताले जुन विश्वासका आधारमा संविधानसभा निर्वाचनमार्फत नेपाली काँग्रेसलाई देशको ठूलो पार्टी बनाए, त्यसलाई पूरा गर्न एक वर्षभित्रै लोकतान्त्रिक संविधान जारी गर्ने धारणा राखेका छन् ।
संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित बन्नुभएका आचार्यलाई बधाइ दिन बौद्धिक व्यावसायिक तथा पेशाकर्मी समूहले शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले भने, सबै दलहरूलाई समेटेर सहमतिका आधारमा अगाडि बढिनेछ, अन्तिम अवस्थासम्म पनि सहमति बन्न नसकेमा बहुमतीय आधारमा भएपनि संविधान जारी गर्नेछौं ।’ उनले ‘एक वर्षभित्र संविधान जारी गरिसक्ने र त्यसपछि आर्थिक विकासका कार्यहरूलाई दू्रतगतिमा अगाडि बढाउने पार्टीको घोषणापत्र उल्लेख भएको जनाउँदै विगतका कमी कमजोरीबाट पाठ सिकेर अब सहमतिका आधारमा अगाडि बढ्नुको विकल्प नभएको बताए ।
पूर्वराजदूत डा दिनेश भट्टराईले यसपटकको संविधानसभामा लोकतान्त्रिक शक्तिको बाहुल्यता रहेकाले निर्धारित समयमै संविधान जारी हुने विश्वास व्यक्त गरे । समूहका अध्यक्ष हरिदर्शन श्रेष्ठले मुलुकलाई सङ्क्रमणबाट मुक्त गरी नयाँ संविधान दिन नेपाली काँग्रेस सक्षम हुनुपर्ने धारणा राखे । (सौस)
प्रतिक्रिया