काठमाडौं, १५ मंसिर । भक्तपुर जिल्लाको क्षेत्र नं २ बाट नवनिर्वाचित सभासद् रामेश्वर ढुङ्गेलसँग चित्तपोलवासीले पर्यटन र कृषि सडकको माग गरेका छन् । निर्वाचित सभासद् ढुङ्गेल विजय र्यालीमा त्यसतर्फ जाँदा विभिन्न वडाका जनताले त्यस्तो माग गरेका हुन् ।
चित्तपोल–२ का बासिन्दाले गाविसमा कृषि सडक बलियो र भरपर्दो नहुंदा गाउँमा उत्पादन भएका तरकारी बिक्री वितरणका लागि बजारसम्म लैजान नसक्दा कृषि सडकका लागि ध्यान दिन आग्रह गरे । उनीहरूले संविधान महत्वपूर्ण विषय भए पनि जनताको उत्पादन बजारसम्म लैजानका लागि कृषि सडकमा पहिलो ध्यान दिन सभासद्सँग आग्रह गरे । चित्तापोल गाविसका अधिकांश जनता कृषि क्षेत्रमा आबद्ध छन् । त्यहाँका जनताले वर्षा महिनामा उत्पादन भएका तरकारी बजारसम्म लैजान सक्ने वातावरण नभएकाले कृषि सडकलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
चित्तपोल गाविस, काभ्रेको नासिकास्थान साँगा र टुकुचा हुँदै नगरकोटसम्म जाने पर्यटकीय मार्ग निर्माण गर्न पनि सभासद्सँग त्यस भेगका जनताले माग गरेका छन् । काभ्रेको साँगाबाट भक्तपुरको चित्तपोल गाविस र काभ्रेको टुकुचा हुँदै पर्यटकीयस्थल नगरकोट जाने उक्त मार्ग कच्ची रूपमा सञ्चालन भएको ३०आँै वर्ष पुगिसकेको भए पनि कसैले निर्माणमा चासो नदेखाएकाले निर्माण प्रक्रियामा लैजान स्थानीयवासीले आग्रह गरेका छन् ।
प्रतिक्रिया