काठमाडौं, १५ मंसिर । कांग्रेस सभापति सुशील कोइराला र एमाले वरिष्ठ नेता केपी शर्मा ओलीबीच संविधानसभाको बनावट, सरकार गठन र दलहरूबीच सहमति जुटाउने विषयमा छलफल भएको छ ।
कोइरालानिवास महाराजगन्जमा शुक्रबार साँझ भएको भेटवार्तामा सरकार गठनलगायत विषयमा समझदारी गरेर अघि बढ्ने सहमति भएको बताइएको छ । सो भेटवार्तापछि एमाले नेता ओलीले केही दल विभिन्न कारणले संविधानसभाबाहिर रहेको र केही दल संविधानसभा बाहिर रहनुपर्छ कि भन्ने अवस्थामा रहेकाले सबैको सहमति जुटाएर संविधान लेखनको काम सक्नुपर्ने धारणा राखे । उनले भने, ‘ठूलो दलका रूपमा कांग्रेसले सरकारको नेतृत्वको दाबी गर्नु अनौठो होइन ।’ नेता ओलीले उत्तिकै हैसियत भएको एमाले र पहिलो दल बनेको कांग्रेसबीच एकआपसमा सहमति गरेर अहिलेको निकास निकालिनुपर्ने बताए ।
राष्ट्रपति परिवर्तन हुन्छ कि भन्ने प्रश्नमा नेता ओलीले भने, ‘संविधान जतिबेला चाहियो त्यतिबेला चलाउने विषय होइन, सबै कुरा विचार पुर्याएर गर्नुपर्छ ।’
प्रतिक्रिया