अतिवादी एजेण्डा बोक्ने शक्ति कमजोर : थापा

Kamal-Thapaकाठमाडौं, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले निर्वाचनबाट जनताले अतिवादी एजेन्डा र त्यसलाई बोक्ने राजनीतिक शक्तिहरु कमजोर बनाई दिएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर अध्यक्ष थापाले अतिवादी एजेण्डा बोक्ने राजनीतिक शक्तिलाई जनताले चुनावमार्फत कमजोर बनाइदिएको बताएका हुन् । ‘अतिवादी एजेण्डाको मुलुकमा कुनै स्थान छैन,’ उनले भने, अतिवादी एजेण्डा बोक्ने राजनीतिक शक्ति कमजोर भएका छन् ।’

एमाओवादी, मधेसवादी र जातीय राजनीतिक दलप्रति अध्यक्ष थापाले घुमाउरो भाषामा कटाक्ष गरेका थिए । उनले जातीय अधिकारका पक्षमा आएका दलहरुलाई जनताले नरुचाएको समेत बताए ।

उनले विघटित संविधानसभाले गरेका काम मान्य नहुने बताए । ‘संविधानसभाको पहिलो बैठकबाटै नयाँ उचाईमा काम सुरु गर्नुपर्छ,’ उनले भने, ‘प्रष्ट जनादेश नभएकाले सहमतिको पहल गर्ने जिम्मा कांग्रेस–एमालेको हो ।’

राप्रपा नेपालका अध्यक्ष थापाले राष्ट्रपति, उपराष्ट्रपतिसहितका संवैधानिक पदहरुको छिटो टुङगो लगाउनु पर्ने थापाले बताए । निर्वाचन पछि मुलुकमा नयाँ जनादेश आएकाले सोही अनुसार काम गर्नुपर्ने उनको भनाई छ ।

अध्यक्ष थापाले राप्रपा नेपाल प्रतिपक्षमा बस्ने बताए । जनताले आफूहरुलाई प्रतिपक्षमा बस्ने जनमत दिएको उनको भनाई छ । ‘सत्ताको फोहोरी खेलमा नलागी प्रतिपक्षमा बस्छौं,’ उनले भने, ‘नयाँ संविधानका लागि रचनात्मक र सकारात्मक भूमिका खोल्छौं ।’

उनले संविधान निर्माण सहमति र सम्झौताका साथ बनाउनु पर्ने बताए । उनले चुनावपछि राप्रपा नेपाल बैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा उदाएको बताए ।

प्रतिक्रिया