सरकारको नेतृत्व लिन कांग्रेसलाई प्रस्ताव

Jn-Khanal-n-Sushil-Koiralaकाठमाडौं, १४ मंसिर । एमाले अध्यक्ष झलनाथ खनालले कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन् ।

अध्यक्ष खनालले बिहीबार कांग्रेस सभापति सुशील कोइरालालाई भेटी दोस्रो संविधानसभा चुनावको
परिणामले कांग्रेस ठूलो दल बनेको भन्दै सरकारको नेतृत्व लिन प्रस्ताव गरेका हुन् । संविधानसभा र सरकार गठनका विषयमा नेतृत्वदेखि शक्ति बाँडफाँडमा कुन पार्टीले के जिम्मेवारी लिने भन्ने विषयमा अनेक अड्कालबाजी भइरहेका बेला दोस्रो ठूलो दल बनेको एमाले अध्यक्षको यस्तो धारणा आएको हो ।
‘चुनावी परिणामले कांग्रेस ठूलो दल बनेको छ । यसैले सरकारको नेतृत्व कांग्रसले नै गर्छ,’ कोइरालासँगको भेटपछि खनालले पत्रकारसँग भने ।
चुनावबाट पहिलो र दोस्रो दल बनेपछि कोइराला र खनालबीचको यो पहिलो भेटवार्ता हो । कोइरालासँगको भेटका लागि खनाल बिहीबार साँझ महाराजगन्ज पुगेका थिए । सो भेटमा चुनावमा जनताले दिएको जनादेशलाई ठूलो जिम्मेवारीका रूपमा लिँदै कांग्रेस र एमालेले सरकार गठन र संविधान निर्माणमा मिलेर काम गर्ने समझदारी भएको भेटमा सहभागी स्रोतले जनाएको छ ।
खनालले सरकार गठन मात्र नभएर संविधानसभाको संरचनासहित देशको विकासका लागि पनि आन्तरिक समझदारी बनाएर अघि बढ्ने बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने कुरालाई प्राथमिकता दिएर संविधानसभाभित्र र बाहिर रहेका दलहरूको समेत सहमति जुटाएर काम गर्छांै,’ उनले भने ।
४ मंसिरमा सम्पन्न संविधानसभा चुनावको प्रत्यक्षतर्फ कांग्रेसले १०५ सिट जितेर पहिलो स्थान कायम गरेको छ भने समानुपातिकमा पनि बाजी मारेको छ । प्रत्यक्षतर्फ ९१ सिट जितेर दोस्रो ठूलो दल बनेको एमालेले समानुपातिकमा पनि दोस्रो स्थान हासिल गरेको छ ।

प्रतिक्रिया