रुकुम, १३ मंसिर । संविधानसभा सदस्य निर्वाचनमा रुकुममा १४ जना उम्मेदवारको धरौटी जफत भएको छ । जिल्लामा खसेको कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगरेका उम्मेदवारको धरौटी जफत भएको हो ।
एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले) का उम्मेदवारबाहेक सबै दलका उम्मेदवारको धरौटी जफत
भएको हो ।
राष्ट्रिय जनमोर्चा, राप्रपा, राप्रपा नेपाल, नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी, नेपाल परिवार दल, नेकपा (माले)मा साम्यवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र सङ्घीय समाजवादी पार्टीका उम्मेदवारको धरौटी जफत भएको छ ।
निर्वाचनको मतगणनाअनुसार क्षेत्र नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका खिमबहादुर खत्रीले ४८६, सङ्घीय समाजवादी पार्टीका सुरेन्द्र पुनले ३२१, नेकपा (माले)मा साम्यवादीका मानबहादुर सुनारले २००, राष्ट्रिय जनमोर्चाकी आशा बुढाले १४३, नेपाल परिवार दलका जगतबहादुर चन्दले १४२, मङ्गोल नेसनल अर्गनाइजेसनका राजेश पुनले १३२, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका मोहनजङ्ग शाहले ८३, नेपाल मजदुर किसान पार्टीका काले खड्काले ५६ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बुद्धिराम पुनले २५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै क्षेत्र नं २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार मल्लले ४९४, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका चन्द्रवीर खड्काले ११०, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गणेशकुमार शाहीले १०३, राष्ट्रिय जनमोर्चाकी विष्णु वलीले ८० र सङ्घीय समाजवादी पार्टीका गोपाल पुनमगरले ७५ मत प्राप्त गरे ।
क्षेत्र नं १ मा एकीकृत नेकपा (माओवादी)का गणेशमान पुन १८ हजार ५९८ मत प्राप्त गरी विजयी बन्नुभएको थियो भने नेपाली काँग्रेसका कृष्णबहादुर रोकायको पक्षमा छ हजार १७३ मत र नेकपा (एमाले)का खेममान खड्काको पक्षमा तीन हजार ७०६ मत खसेकाले उनीहरूको धरौटी फिर्ता हुने भएको छ ।
त्यस्तै क्षेत्र नं २ मा २२ हजार ५७५ मत प्राप्त गरी एनेकपा (माओवादी)का जनार्दन शर्मा प्रभाकर विजयी बन्नुभएको थियो भने नेपाली काँग्रेसका गोपालजीजङ्ग शाह नौ हजार ९७६ मत र नेकपा (एमाले)का ठगेन्द्रप्रकाश पुरी छ हजार ११८ मत प्राप्त गरी धरौटी जोगाउन सफल भएका छन् ।
कुल ३८ हजार ५४१ मतदाता सङ्ख्या रहेको रुकुम क्षेत्र नं १ मा १२ दल र ४७ हजार ९२१ मतदाता सङ्ख्या रहेको क्षेत्र नं २ मा आठ दलले प्रतिस्पर्धा गरेका थिए । क्षेत्र नं १ मा ३० हजार ७५० मत खसेको मध्ये ३० हजार ६५ मत सदर भएको थियो ।
यस्तै क्षेत्र नं २ मा ४० हजार ६७२ मत खसेको मध्ये ३९ हजार ५३१ मत सदर भएको थियो ।
प्रतिक्रिया