१६ हजार मत बदर

राजविराज, १२ मंसिर । संविधानसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष प्रणालीतर्फ सप्तरी जिल्लामा १६ हजार मत बदर भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार एउटै मतपत्रमा दुई वा बढी चिह्नमा छाप लगाइएका, ल्याप्चे लगाइएका मतपत्र बढी सङ्ख्यामा भेटिएको छ । मतपत्रमा रहेको कुनै पनि चिह्नमा छाप नलगाइएका, घेरा बाहिर छाप लगाइएका र मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र पनि केही सङ्ख्यामा पाइएको छ ।
सप्तरीमा यस पटक दुई लाख ३५ हजार १६९ मत खसेकामा दुई लाख १९ हजार २४३ मत अर्थात् ९३.२३ प्रतिशत मत मात्र सदर भएको छ । जिल्लाका छवटै क्षेत्रमा १५ हजार ९२६ मत बदर भएको छ । यो खसेको मतमा ६.७७ प्रतिशत हो । जिल्ला निर्वाचन अधिकारी प्रदीप साहका अनुसार अघिल्लो संविधानसभाको निर्वाचनमा भन्दा यस पटक तुलनात्मक रूपमा कम मत बदर भएको छ ।
विसं २०६४ मा भएको निर्वाचनमा ८.१० प्रतिशत मत बदर भएको थियो । तर यस पटक मतदाता कम भएकाले बदर मतको सङ्ख्या अझै कम हुने अपेक्षा गरिएको साहको भनाइ छ । निर्वाचन आयोगले गाउँगाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेपनि निर्वाचन शिक्षा कार्यकर्ता गाउँमा नपुग्दा बदर मतको सङ्ख्यामा कमी नआएको हो । आयोगले बदर मतको सङ्ख्या घटाउन प्रत्येक गाविसमा मतदाता शिक्षा कार्यकर्ता, निर्वाचन शिक्षा कार्यकर्ता खटाए पनि उनीहरू गाउँ नपुगेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया