इपानलाई हाइड्रो एक्सलेन्ज एवार्ड

काठमाडौं, १२ मङ्सिर । जलस्रोत तथा वातावरण क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘हाइड्रो एक्सचलेन्ज एवार्ड’ यस वर्ष स्वतन्त्र विद्युत उत्पादक संस्था (इपान) लाई प्रदान गरिएको छ । यसअघि यो पुरस्कारबाट पत्रकार विकास थापा, इन्जिनियर डा डम्बरबहादुर नेपाली, ऊर्जा प्रवद्र्धक ज्ञानेन्द्रलाल प्रधान र पूर्व ऊर्जा मन्त्री गोकर्ण विष्ट सम्मानित भएका थिए ।

पुरस्कार वितरण समारोहमा बोल्दै ऊर्जा सचिव विश्वप्रकाश पण्डितले मुलुकका आर्थिक विकासका लागि सरकारले कृषि, पर्यटन र जलस्रोतलाई उच्च प्राथमिकता दिएको धारणा राखे । जलस्रोतका लागि विद्युतको लाइसेन्स वितरण प्रणालीमा सुधार, वित्तीय लगानीको सुनिश्चितताका लागि स्वदेशी र विदेशी लगानीलाई आकर्षित गर्न उपयुक्त वातावरणको तयार तथा नेपाल विद्युत प्राधिकरणको संरचनात्मक सुधारमा जोड दिइएको उनले बताए । पुरस्कार ग्रहण गर्दै इपानका अध्यक्ष डा सुवर्णदास श्रेष्ठले राजनीतिक पार्टीहरुले आफ्ना घोषणापत्रहरुमा जलस्रोत विकासका लागि गरेका प्रतिवद्धताहरु कार्यान्वयनमा ल्याउनुपर्ने धारणा व्यक्त गरे ।
हाल कूल जडित विद्युत क्षमता करिब ७५० मेगावाटमध्ये ३४ प्रतिशत अर्थात २४० मेगावाट निजी क्षेत्रबाट उत्पादन भएको छ भने हाल ७० वटा आयोजनाबाट ५०० मेगावाट विद्युत निर्माणको चरणमा रहेको र थप ५०० मेगावाट निर्माण प्रक्रियाको चरणमा रहेको जानकारी उनले दिए ।
इनर्जी फर मिडियाका अध्यक्ष जीवन थान्जुको सभापतित्वमा भएको सो कार्यक्रममा जलस्रोत विकास संस्थाका महासचिव एवम् पूर्व जलस्रोत सचिव सूर्यनाथ उपाध्याय, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र पुरस्कार छनौट समितिका संयोजक ईश्वरराज वन्तले पनि ऊर्जाको विकास नभएसम्म देश विकास हुन नसक्ने भएकाले यसका लागि सरकार, निजी क्षेत्र र स्वदेशी तथा विदेशी लगानीकर्ताको सामूहिक प्रयासको खाँचो औंल्याए ।

प्रतिक्रिया