सहमतिमा नयाँ संविधान बनाउनुस् : चीन

Ramchandra Peter Boddiकाठमाडौं, ११ मंसिर । पछिल्लो राजनीतिक अवस्थाका बारेमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत बु चिन्ताईबीच भेटवार्ता भएको छ ।

काठमाडौंको वोहोराटारस्थित उपसभापति पौडेलको निवासमा आज (मंगलबार) विहान भएको भेटवार्ता निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि उत्पन्न राजनीतिक अवस्था र दलहरुबीच सहमतिका लागि भैरहेका प्रयास जस्ता विषयमा छलफल केन्द्रीत भएको सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

चिनियाँ राजदूत चिन्ताईले नेपाल निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई समेत दिए । चाँडो संविधान निर्माण गरेर नेपालको शान्ति, विकास र स्थिरताको मार्ग अघि बढोस भन्ने चीनको इच्छा रहेको उनले बताए ।

‘चाँडो संविधान बनोस, नेपालमा शान्ति, स्थिरता र विकासको कामले तिव्रता लिनुपर्छ भन्ने चीनको चाहना छ,’ चिनियाँ राजदूत चिन्ताईले भने ।

उपसभापति पौडेलले निर्वाचनमा चीनका तर्फबाट भएको सहयोग र विकासका काममा पुर्‍याउँदै आएको सहयोगका लागि आभार व्यक्त गरे । ‘राजनीतिक दलहरुबीच सहमित जुटाएर संविधान लेखनको काम सक्ने र मुलुकलाई आर्थिक समृद्वितर्फ लैजानेतर्फ अब ध्यान केन्द्रित गरिने छ,’ उनले भने ।

‘उत्साहपूर्ण जनसहभागितामा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ,’ उनले भने, ‘अब हामी सहमति जुटाएर संविधान लेखनमा जुट्छौ ।’

प्रतिक्रिया