काठमाडौं, ११ मंसिर । प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको कांग्रेसले समानुपातिक प्रणालीको मतमा पनि अग्रता लिएको छ । सोमबार रातिसम्म भएको गणनामा एमालेलाई पछि पार्दै कांग्रेसले अग्रता लिएको हो ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार यो समाचार तयार पार्दासम्म कांग्रेसले ९ लाख ९९ हजार ६ सय १५ र निकटतम प्रतिद्वन्द्वी एमालेले ९ लाख ८७ सय ५ सय ८८ मत पाएका छन् । तेस्रो सस्थानमा संघर्ष गरिरहेको एमाओवादीले ६ लाख १२ हजार ९ सय ३६ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २ लाख ८२ हजार ५ सय २१, राप्रपाले १ लाख १७ हजार १ सय ३२, फोरम लोकतान्त्रिकले ८५ हजार ८ सय ८, संघीय समाजवादी पार्टीले ६२ हजार ७ सय २९ मत पाएका छन् । २० हजारभन्दा बढी मत प्राप्त गर्ने दलको संख्या १५ पुगेको छ ।
समानुपातिक प्रणालीतर्फ सोमबार बेलुकासम्म ७९ क्षेत्रको मतगणना सम्पन्न भइसकेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, रसुवा, धादिङ, नुवाकोट, मनाङ, कास्की, तनहुँ, मुस्ताङ, म्याग्दी, रुकुम, रोल्पा जिल्लाका सबै क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ । त्यसैगरी डोल्पा, हुम्ला, डोटी, दैलेख, डडेल्धुरा, खोटाङ, पर्सा, गोरखा, प्युठान, बर्दिया र बैतडीका पनि सबै क्षेत्रको मतगणना भइसकेको छ ।
आयोगका अनुसार मोरङ क्षेत्र नम्बर ४, ६ र ९, गुल्मी क्षेत्र नम्बर १ र ३, रूपन्देही क्षेत्र नम्बर १, २ र ६, वाग्लुङ क्षेत्र नम्बर २ र ३, दाङ क्षेत्र नम्बर १, २ र ४ को पनि मतगणना कार्य सम्पन्न भएको छ । मकवानपुर १ र ३, रौतहट १, काठमाडौ ८, झापा २, चितवन २, कपिलवस्तु ३, पाल्पा ३, सिरहा २, उदयपुर २, कञ्चनपुर ३ र ४ तथा संखुवासभा १ को मतगणना सकिएको आयोगले जनाएको छ । आयोगका अनुसार सप्तरी २ बाहेकका सबै क्षेत्रमा मतगणना कार्य जारी छ । समानुपातिकमा १ सय २२ दलका १० हजार ७ सय ९ उम्मेदवार बन्दसूचीमा छन् ।
प्रतिक्रिया