काठमाडौं, १० मंसिर । २०१७ सालमा राजा महेन्द्रलाई जनकपुरमा बम प्रहार गरेको अभियोगमा आजीवन कारावासको सजाय भोगका कांग्रेस नेता अरविन्द ठाकुरको निधन भएको छ ।
जिउँदो शहीद एवं राष्ट्रिय सभाका पूर्व सांसद ठाकुरको आज (सोमबार) विहान ६ बजे ललितपुरमा उपचारका क्रममा निधन भएको कांग्रेसले जनाएको छ । ढाडको समस्याबाट पीडित ठाकुरले बी एण्ड बी अस्पतालमा उपचार गराई रहेका थिए ।
ठाकुरका श्रीमती, दुई छोरा र एक छोरी छन् । नेपालमा प्रजातन्त्र स्थापना र पुन:स्थापनामा सक्रिय ठाकुरले विक्रम संवत २०१७ साल पुष–१ गते राजा महेन्द्रले प्रजातन्त्र अपदस्थ गरे पछि पञ्चायती व्यवस्थाका विरुद्ध संघर्षरत रहेका थिए ।
२०१८ साल माघ–९ गते तत्कालीन राजा महेन्द्रको जनकपुर भ्रमणका समयमा राजाको भ्रमणको विरोध गर्दै प्रदर्शनमा रहेका ठाकुर जनकपुर बमकाण्डको घटनाको आरोपमा एयरपोर्टमै पक्राउ परेका थिए ।
तत्कालीन पञ्चायतीव्यवस्थाले राजकाज मुद्दा अन्तर्गत ठाकुरलाई फाँसीको सजाय सुनाएता पनि पछि आजीवन कारावासको सजाय दिने निर्णय गरेको थियो ।
ठाकुर २०५६ मा कांग्रेसका तर्फबाट राष्ट्रिय सभाको सदस्य रहेका थिए । २०७० भदौ–२४ गते ९९ औं बीपी जन्मजयन्तीका अवसरमा बीपी संग्रालयले ठाकुरलाई ‘बीपी राजनीतिक पुरस्कार’ प्रदान गरेको छ ।
यसैबीच, ठाकुरको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार भएको छ । ठाकुरप्रति सम्मान प्रकट गर्न कांग्रेसले आज र भोलि दुई दिन केन्द्रीय कार्यालय र देशभरिका पार्टी कार्यालयहरुमा झण्डा आधाझुकाउने निर्णय गरेको छ ।
ठाकुरको गृह जिल्ला धनुषामा शोक प्रकट गर्न कार्यक्रम आयोजना गर्ने निर्णय समेत भएको छ ।
प्रतिक्रिया