काठमाडौं, १० मंसिर । एमाओवादी नेतृत्वलाई वर्तमान चुनावी प्रक्रियालाई स्वीकार गरी संविधानसभामा नजान दबाब बढेको छ । बहुमतीय प्रक्रियामा नलागी राजनीतिक सहमतिमा अघि बढ्ने भए मात्रै संविधानसभामा सहभागी हुनुपर्ने माग एमाओवादीमा उठेको छ ।
पूर्वपोलिटब्युरो सदस्य तथा राज्य समिति इन्चार्जहरूको आइतबार बसेको बैठकमा बोल्ने अधिकांश नेताले यथास्थितिमा संविधानसभामा नजान सुझाव दिएका हुन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चुनावमा अप्रत्यासित हार बेहोरेपछि मतगणना बहिष्कार गरी चुनावी प्रक्रियाको पुनरावलोकन हुनुपर्ने माग गरेका थिए । दाहालले चुनावी सबै प्रक्रियाको पुनरावलोकन नभए संविधानसभामा सहभागी नहुने घोषणासमेत गरेका थिए । आइतबारको बैठकमा नेताहरूले दोस्रो संविधानसभा चुनावमा ‘संस्थागत र संरचनागत’ धादली भएको धारणा व्यक्त गरे ।
उनीहरूले चुनाव शान्तिपूर्ण भए पनि मतपेटिका मतगणना स्थलसम्म पुर्याउँदा योजनाबद्ध तरिकाले धादली भएको जिकिर गर्दै संविधानसभाबाहिरै रहेर जनतासामु जानु उत्तम हुने सुझाव दिए । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकमा नेताहरूले धाँधलीको भण्डाफोर गर्न देशव्यापी अभियान चलाउनुपर्ने सुझावसमेत दिए ।
आइतबार आफ्नो धारणा राख्ने २० नेतामध्ये अधिकांशले देशभर गुरुयोजनासहित चुनावमा धादली भएको थुप्रै प्रमाण भेटिएको जानकारी दिदै चुनावी प्रक्रियाको पुनरावलोकन नभएसम्म संविधानसभामा नजान आग्रह गरेका थिए । बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले मतदातालाई धन्यवाद दिन सबै जिल्लामा अभियान चलाउनुपर्ने, धाँधलीको छानबिन गर्न पार्टी समिति गठन गनुपर्नेलगायत सुझाव आएको जानकारी दिए ।
बैठकमा सहभागी एक नेताले चुनावी धाँधलीको छानबिन गर्न पार्टीभित्र र अर्को छुट्टै स्वतन्त्र समिति गठन गर्नुपर्नेलगायत सुझाव आएको बताए । उनीहरूले दुईतिहाई प्रक्रियामा नलागी राजनीतिक सहमतिमा जाने भए मात्रै संविधानसभामा सहभागी हुन तथा नेकपा–माओवादी नेतृत्वको मोर्चासहितको राजनीतिक सम्मेलन गरी संविधान निर्माणमा सहमति जुटाउन पहल गर्न पनि सुझाव दिएका थिए ।
केही नेताले संविधानसभामा सहभागी हँुदा अघिल्लो संविधानसभाले पारित गरेको ८० प्रतिशत प्रावधान मिसाएर नयाँ संविधान बनाउने विषयलाई नछाड्न पनि आग्रह गरेका थिए । चुनावको समीक्षा गरी आगामी योजना बनाउन सोमबारदेखि केन्द्रीय समितिको बैठक बस्ने सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया