काठमाडौं, १० मंसिर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पराजित सिराहा ५ का एमाले उम्मेदवार लीलानाथ श्रेष्ठले आफनो क्षेत्रमा धाँधली भएको आरोप लगाएका छन् ।
उनले सो क्षेत्रमा पुन मतदानको माग पनि गरेका छन् । संविधानसभा निर्वाचनअन्तर्गत सिरहा निर्वाचन क्षेत्र नं ५ का नेकपा एमालेका उम्मेदवार श्रेष्ठले दुई वटा गाविसको ६ वटा मतदान केन्द्रमा एमाओवादीले धाँधली गरेको आरोप लगाउदै ती मतदान केन्द्रको पुन: निर्वाचन गराउन माग गरेका छन्। आइतवार दिउसो सिरहाको चन्द्रलालपुर–७ चोहर्वास्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी क्षेत्र नं ५ को कल्याणपुर कालावञ्जर गाविसको प्रावि कल्याणपुर मरेवाको मतदान केन्द्र ”क” र ”ख”, बडहरामाल गाविसको निमावि भुल्के मतदान केन्द्र ”क” र ”ख” मा धाँधली भएको दावी गरे ।
श्रेष्ठले ती मतदान केन्द्रमा एमाओवादी सम्बद्ध वाइसिएल कार्यकर्ताले मतदान केन्द्र कब्जामा लिई अन्य दलका प्रतिनिधिलाई लखेटेर एकलौटी रुपमा मत खसालेको आरोप लगाए । श्रेष्ठले जारी गरेको विज्ञप्तीमा धाँधली भएको विषयमा मतगणना शुरु हुनु भन्दा अगावै उजुरी गरेपनि त्यसको सुनुवाई नभएको बताइएको छ । सो क्षेत्रबाट एकीकृत नेकपा माओवादी का अध्यक्ष पुष्पकमल दाहाल १५ हजार २ सय ४४ मत ल्याई विजयी भएका थिए। दाहालका निकटम प्रतिद्धन्दीका रुपमा रहेका श्रेष्ठले १४ हजार ३ सय २३ मत प्राप्त गरे ।
प्रतिक्रिया