‘प्रतिस्पर्धी साथीहरुले बाधा अड्चन गरे’

Baburam-Bhattaraiकाठमाडौं, ८ मंसिर । एमाओवादीका नेता बाबुराम भट्टराईले रुपन्देहीमा आफूहरुका एजेण्डाहरुलाई जनस्तरसम्म लैजाने क्रममा प्रतिस्पर्धी राजनीतिक दलका साथीहरुले धेरै प्रकारका बाधा अड्चन पैदा गरेको गुनासो गरेका छन् ।

भट्टराईले आज (शनिबार) विज्ञप्ति जारी गरेर एमाओवादीले रुपान्तरणका सवालमा गरेका कामकारबाहीहरुको गलत व्याख्या गरिएको बताए ।

‘अन्य प्रतिस्पर्धी दलका साथीहरुले हाम्रा एजेण्डालाई पूराका पूरा बहिस्कार गर्दै निषेधात्मक तरिकाले केन्द्रीय नेतृत्व र पार्टीको बद्ख्वाईं गर्दै चुनाव प्रचार गरे,’ उनले भनेका छन्, ‘पूर्णतया संसदीय निर्वाचनको झल्को दिनेगरी एमाले कांग्रेसजस्ता पुराना संसदवादी दलहरुले निषेधात्मक तरिकाले अलोकतान्त्रिक प्रचार शैली अपनाए ।’

उनले विभिन्न हतकण्डाहरु प्रयोग गरे र एमाओवादीलाई षड्यन्त्रपूर्वक घेराबन्दी गरी आफूहरुका एजेण्डालाई सम्पूर्ण रुपले तिरस्कार गर्ने काम गरेको गुनासो गरे ।

‘मैले मेरो र हाम्रो पार्टीको यो पराजयलाई एमाओवादीले उठाएका एजेण्डाको पराजयको रुपमा कदापि लिएको छैन,’ उनले भनेका छन्, ‘संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, पहिचान, राज्यको अग्रगामी पुन:संरचनालगायतका एजेण्डाहरुको भ्रमपूर्ण अपव्याख्या भएको छ ।’

नेता भट्टराईले अनेक बहानामा आफ्नो अस्वीकार गर्नेसम्मका अलोकतान्त्रिक व्यवहारहरु प्रदर्शन भएको गुनासो रुपन्देहीका मतदातासँग गरे ।

प्रतिक्रिया