अहिलेसम्म राप्रपालाई तीन सीट

Sunil-Bd-Thapaकाठमाडौं, ८ मंसिर । अघिल्लो संविधानसभा निर्वाचनमा प्रत्यक्ष तर्फ एक सिट पनि जित्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यस पटकको संविधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फ पनि केही स्थानमा जीत हात पारेको छ । संविधानसभा निर्वाचन अन्र्तगत अहिलेसम्म घोषित परिणाम मध्ये राष्ट्रिय प्रजातान्त्र पार्टीले तीन स्थानमा जीत दर्ता गराइसकेको छ ।
राप्रपाले धनकुटा, चितवन र रुपन्देहीमा जीत हात पारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनिल थापाले धनकुटा क्षेत्र नम्वर २ बाट जीत हात पारे । थापाले १० हजार ९३ मत ल्याएर प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजेन्द्र राईलाई पछि पारेका थिए । प्रतिद्वन्द्वी राईले नौ हजार ६ सय ३६ मत प्राप्त गरेका थिए । नेता सुनिल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सुर्यबहादुर थापाका पुत्र हुन् ।
विगतमा सुर्य बहादुर थापा धनकुटाबाट उम्मेदवार हुने गरेका थिए । यता राप्रपालाई अर्को जीत दिलाउने उम्मेदवार हुन विक्रम पाण्डे । चितवन क्षेत्र नम्वर ५ का राप्रपा उम्मेदवार विक्रम पाण्डेले १० हजार ७ सय ५८ मत प्राप्त गर्दै जीत दर्ता गराए । उनले नेकपा (एमाले)का दानबहादुर तामाङलाई पछि पारेका थिए । तामाङले भने ८ हजार ४ सय ७ मत प्राप्त गरेका थिए । राप्रपाले चितवनमा २० वर्षपछि पहिलो पटक जीत दर्ता गराउन सफल भयो । राप्रपालाई तेश्रो सीट दिलाउने अर्का उम्मेदवार दिपक बोहरा हुन् । रुपन्देही क्षेत्र नम्वर ३ का उम्मेदवार बोहराले ८ हजार १ सय ५२ मत प्राप्त गरे । उनले फोरम लोकतान्त्रिकका देवी चौधरीलाई पछि पारेका थिए ।

प्रतिक्रिया