सहकारी, बैंक तथा वित्तीय संस्थाले गरिबको जीवनस्तर उकास्नुपर्ने

काठमाडौं ७ मंसिर । राष्ट्रपति डा रामवरण यादवले सहकारी, बैंक तथा वित्तीय संस्था निरपेक्ष गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । ४९औँ सिसन गभर्नर सम्मेलन तथा उच्चस्तरीय कार्यशालाको बिहीबार उद्घाटन गर्दै उनले गरिबी घटाउने दिशामा बैंक तथा वित्तीय संस्था लाग्नुपर्ने बताएका छन् ।

दिगो एवं समावेशी आर्थिक वृद्धि अहिलेको आवश्यकता भएको बताउँदै राष्ट्रपतिले मुनाफा चाहने निजी क्षेत्रले पनि समाजप्रतिको आफ्नो दायित्व सम्झेर आर्थिक गतिविधि गर्नुपर्ने विचार व्यक्त गरे । वित्तीय सेवामा तल्लो तहका जनताको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले त्यसनिम्ति राष्ट्रिय एवं क्षेत्रीयस्तरमा सहकार्यको खाँचो औँल्याएका छन् ।
समृद्ध, शान्त, स्थिर एवम् आर्थिक रूपमा सवल नेपाल निर्माणको अभियानमा मुलुक लागेको भन्दै उनले वित्तीय क्षेत्रका जोखिम एवं चुनौतीको सामना गर्दै अघि बढ्न जरुरी भएको बताए । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नेपालको वर्तमान आर्थिक स्थितिबारे जानकारी दिादै मूल्यवृद्धि नियन्त्रण सरकारका निम्ति चुनौतीका रूपमा रहेको बताए ।
विप्रेषण आप्रवाह, वैदेशिक मुद्रा सञ्चिति, चालु खातामा विद्यमान बचतले नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन मद्दत गरेको बताउँदै उनले वित्तीय क्षेत्र सुधारलगायत नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न सरकार क्रियाशील छ भनेका छन् ।
ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय सेवा विस्तार गर्न सरकार लागिपरेको जानकारी दिँदै अर्थमन्त्रीले आर्थिक स्थायित्वका लागि सिसन समूहका बैंक तथा वित्तीय संस्थाबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । ‘दिगो आर्थिक विकास प्राप्तिका लागि सामूहिक प्रयास हुनुपर्छ,’, उनले भने ।
अन्तर्राष्ट्रिय मुद्राकोषका नायब प्रबन्ध निर्देशक नायुकी सिनोहाराले विकासशील मुलुकहरूको अर्थतन्त्र सुदृढ तुल्याउन तथा विकासका परियोजनामा लगानी बढाउन कोष सकारात्मक रहेको बताए ।
उद्घाटन समारोहका सभापति एवं मंगोलियाको केन्द्रीय बैंकका गभर्नर नैदानसुरेन जोलजार्गलले वित्तीय जोखिम घटाउने, लगानी वृद्धि, वित्तीय साक्षरता विस्तार गर्दै दिगो आर्थिक विकास हासिल गर्नेतर्फ केन्द्रीय बैंकहरू लाग्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले वित्तीय क्षेत्रको विस्तारसँगै वित्तीय जोखिम बढेको, अनौपचारिक वित्तीय कारोबारले वित्त बजारमा समस्या थपेको बताउँदै उनले वित्तीय स्थायित्व कायम राख्न तथा आर्थिक विकासलाई द्रुत गतिमा अघि बढाउन बैंकले हरसम्भव प्रयास गरिरहेको जानकारी दिए ।
सम्मेलन आयोजक समितिका संयोजक एवं डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेले २६ वर्षपछि दोस्रोपटक नेपालमा उक्त सम्मेलन आयोजना हुनु नेपालका निम्ति गौरवको विषय भएको चर्चा गर्दै वित्तीय नीति तर्जुमा तथा क्षेत्रीय सहयोग प्रवद्र्धन गर्न सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया