संविधानसभामा प्रवेश गर्दैनौं : एमाओवादी

prachandकाठमाडौं, ६ मंसिर । हारका संघारमा रहेको एमाओवादीले संविधानसभामा प्रवेश नगर्ने चेतावनी दिएको छ । माग पुरा नभए उसले संविधानसभाका लागि भएको मतदान र परिणामलाई अस्वीकार गर्ने जनाएको छ ।

पार्टी मुख्यालय कोटेश्वरमा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहालले मतगणनाको सम्पूर्ण प्रक्रिया नरोकिए संविधानसभामा प्रवेश नगर्ने बताए । ‘मतगणनाको सम्पूर्ण प्रक्रिया रोक्नु पर्छ,’ उनले भने, ‘सम्पूर्ण प्रक्रिया रोकिन भने हामी संविधानसभामा प्रवेश गर्दैनौं । हामी यो प्रक्रियामै पनि रहँदैनौं ।’

अध्यक्ष दाहालले सम्पूर्ण प्रक्रिया रोकेर एमाओवादी बिरुद्ध भएको धाँदलीको छानविन गर्न माग गरे । ‘निष्पक्ष र स्वतन्त्र निर्वाचनको परिणाम मान्न चुनावमा सहभागी भएका हौं,’ उनले भने, ‘हाम्रा बिरुद्धको षड्यन्त्र स्वीकार गर्न चुनावमा भाग लिएका होइनौं ।’

विगतका सहमति र सहकार्य अनुसार वार्तामा बस्न तयार रहेको जनाएको एमाओवादी वार्ता र सम्वादलाई निरन्तरता दिने जनाएको छ । अर्को नयाँ चुनाव नमागेको बताएका दाहालले एमाओवादी बिरुद्ध भएका धाँदली भएको दाबी गर्दै छानबिन गर्नु पर्ने दोहर्‍याएका थिए ।

अध्यक्ष दाहालले एमाओवादीलाई हराउन दृश्य–अदृश्य तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिले आफूहरुलाई हराएको गुनासो गरे । ‘हामी हार्छौ भन्ने लागेको थिएन,’ उनले भने, ‘महिनौं देखि दु:ख नभनेर चुनावमा होमिएका थियो ।’

यसैबीच, अध्यक्ष दाहालले परिवर्तनकारी शक्तिहरुसँग एकता हुने बताएका छन् । नेकपा–माओवादीसँग तत्काल एकता हुन नसक्ने जनाएका उनले भने, ‘मुलुकका लागि परिवर्तनकारी शक्तिहरुसँग सहकार्य र एकता हुन्छ ।’

अधिकांश स्थानमा पराजित हुने सुनिश्चित भए पछि एमाओवादीले मतगणना प्रक्रियामा अबरोध पुर्‍याउन खोजेको हो ।

प्रतिक्रिया