शीर्ष नेताहरूलाई हम्मे– हम्मे

Prachand 1काठमाडौं, ६ मंसिर । संविधानसभा दोस्रो चुनावको प्रारम्भिक मत परिणामअनुसार शीर्ष नेताहरूलाई जित हासिल गर्न हम्मे–हम्मे परिरहेको देखिएको छ ।

सिरहा–५ र काठमाडौं–१० मा उम्मेदवार रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई काठमाडौंमा कांग्रेस उम्मेदवार राजन केसीले यो समाचार तयार पार्दासम्म १ हजार ७ सय मतले पछाडि पारेका छन् । दाहालको ५४६१ मत छ भने केसीको ७ हजार २ सय ३९ मत छ । उक्त क्षेत्रमा एमाले उम्मदेवार सुरेन्द्र मानन्धर ४ हजार ६ सय ३२ मतका साथ तेस्रो स्थानमा छन् ।
सिरहा–५ मा भने दाहालले १ हजार १ सय ९९ मतका साथ अग्रस्थान कायम गरेका छन् । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार लीलानाथ श्रेष्ठ ५ सय ९८ मतले पछाडि छन् । त्यस्तै, नेकपा संयुक्तका रञ्जित पासवान ५८ मतका साथ पछ्याइरहेका छन् । एमाओवादी नेता डा. बाबुराम भट्टराई पनि रुपन्देही–४मा पछाडि छन् । एमाले उम्मेदवार विष्णु पौडेल ६ सय ९१ मतका साथ अगाडि छन् भने कांग्रेस उम्मेदवार ४ सय ६३ मतका साथ दोस्रो स्थानमा छन् । भट्टराईले भने ४ सय ६३ मतका साथ तेस्रो स्थानमा छन् । गोरखा–१ मा भने १ हजार ६ सय ४ मतका साथ उनी अग्रस्थानमा छन् । दोस्रो स्थानमा कांग्रेसका कृष्णबाबु श्रेष्ठ ३ सय २५ मतसहित दोस्रो र तेस्रोमा १७८ का साथ एमालेका रामशरण बस्नेत छन् ।
बाँके–३ र चितवन–४ का उम्मेदवार कांग्रेस सभापति सुशील कोइराला दुवै क्षेत्रमा अग्रस्थानमा छन् । बाँके–३ मा १ हजार ५ सय ८३ मतका साथ अग्रस्थानमा छन् भने राप्रपा नेपालका धवलशमशेर राणा १ हजार १ सय ३४ सय मतका साथ दोस्रो स्थानमा छन् । चितवनमा पनि उनी ९ सय २९ मतका साथ अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी एमाओवादीका चित्रबहादुर श्रेष्ठ ५ सय १५ दोस्रोमा र एमालेका दिलकुमारी (पार्वती) रावल ३ सय १५ मतका साथ तेस्रोमा छिन् ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट ३ हजार ४ सय ५५ मतसहित अग्रस्थानमा छन् । उनका पछाडि एमाओवादीकी उम्मेदवार रेणु दाहाल ७ सय ५५ मतका साथ दोस्रो स्थानमा छिन् । तेस्रोमा भने एमालेकी उम्मेदवार विद्या न्यौपाने ४ सय ३९ मतमा छिन् ।
इलाम–१ र सर्लाही–१ का उम्मेदवार एमाले अध्यक्ष झलनाथ खनाल सर्लाही–१ मा भने अग्रस्थानमा छन् तर इलाममा भने मतपरिणाम आइसकेको छैन ।
रौतहट–१ मा भने माधवकुमार नेपाल ७ सय मतले पछि परेका छन् । फोरम लोकतान्त्रिकका अजय गुप्ताले १ हजार ८ सय ८७ मत पाएर शीर्ष स्थान कायम गरेका भने एमालेको १ हजार १ सय ६२ मत छ । एमाले नेता नेपालले काठमाडौं–२ मा भने अग्रस्थान कायम गरेका छन् । नेपालले २ हजार ५ सय ६० मत पाएका छन् भने कांग्रेस उम्मेदवार प्रतिमा गौतम १ हजार ४ सय ७९ मतका साथ दोस्रो र राप्रपा नेपालका नवराज सिंखडा ६ सय ७६ मतका साथ तेस्रो स्थानमा छन् ।
पूर्वसभामुख समेत रहेका सुवासचन्द्र नेम्वाङले पनि शीर्ष स्थान ओगट्न निकै गाह्रो परेको छ । इलाम–२ का उम्मेदवार उनी ३ सय ५९ मतका साथ दोस्रोमा छन् तर कांग्रेसका भेषराज आचार्यले ३ सय ७२ मतसहित उनलाई पछि पारेका हुन् । तेस्रो स्थानमा भने एमाओवादीका रमेश लिङ्देल ९५ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया