न्युयोर्क । न्युयोर्कका युवायुवतीलाई अब चुरोट पिउनका लागि कम्तीमा पनि २१ वर्ष उमेर पुग्नुपर्ने भएको छ । यस अघिको कानुनमा संशोधन गर्दै मङ्गलबार चुरोट पिउने वैधानिक कानुनी उमेरको अधिकतम हदलाई २१ वर्ष पुर्याइएको हो । सो सहरका मेयर माइकल ब्लुम्बर्गले मङ्गलबार उक्त कानुनमा हस्ताक्षर गरेका छन् । उक्त कानुन आगामी छ महिनापछि लागू हुने भएको हो ।
अमेरिकामा सुरु भएको धुम्रपानविरोधी कानुनमा यो एक महत्वपूर्ण कदम भएको पनि समाचारमा जनाइएको छ । यो कानुनी प्रावधानले युवायुवतीको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताएका छन् । न्युयोर्कमा करिब ८० लाख जनसङ्ख्या रहेको छ । त्यहाा सूर्तीजन्य पदार्थका साथै विद्युतीय चुरोटको पनि सेवन गर्ने गरिएको छ । सन् २०१४ को मे महिनाबाट सो कानुनको कार्यान्वयन सुरुहुने छ । त्यसपछि कसैले न्युयोर्क सहरमा चुरोट किन्दा ती व्यक्ति २१ वर्ष उमेर पुगेको खुल्ने परिचय पत्र देखाउनु पर्दछ । संयक्त राज्य अमेरिकामा चुरोट पिउनका लागि यतिधेरै वर्षको उमेर हद राख्ने न्युयोर्क नै पहिलो सहर भएको छ ।
नगर परिषदको बैठकले गत अक्टोबर ३१ मा पास गरेको सो कानुन लागू भएपछि न्युयोर्कका युवायुवतीलाई अत्यधिक मात्रामा चुरोट पिउने लत हटाउन सहयोग पुग्ने बताइएको छ । यसअघि पनि न्युयोर्कमा होटल, रेस्टुरेन्ट, बार, सार्वजनिक स्थल, पार्क आदिमा चुरोट पिउन प्रतिबन्धित नै थियो । यो पछिल्लो कानुनले उक्त प्रावधानहरुको कार्यान्वयनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि सो सहरमा चुरोट पिउनेका लागि आवश्यक पर्ने उमेर १८ वर्ष रहेको थियो । हाल पनि अमेरिकाका अन्य सहरहरुमा चुरोट पिउने कानुनी उमेर १८ वर्ष नै रही आएको छ ।
अमेरिकामा चुरोट पिउने बानीका धेरै युवायुती रहेका छन् । यो पछिल्लो प्रावधानले १८ देखि २० वर्ष उमेर समूहका युवायुवतीको चुरोट पिउने बानीमा कम्तीमा पनि ५५ प्रतिशतले कमी आउने अनुमान गरिएको छ ।
प्रतिक्रिया