काठमाडौं, ४ मंसिर । निर्वाचन आयोगले संविधानसभा सदस्य निर्वाचन–२०७० को मतदानमा ६० प्रतिशत भन्दा बढी मत खसेको जनाएको छ ।
आयोगले आजै (मंगलबार) चार बजे जारी गरेको बुलेटिन अनुसार मुलुक भरि ६० प्रतिशत भन्दा बढी मतदान भएको छ । बिहान ७ देखि पाँच बजे सम्म देशभरि भएको मतदान शान्तिपूर्ण र उत्साहजनकरुपमा सञ्चालन भएको आयोगको दाबी छ ।
आयोगले सम्बन्धित जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरूबाट प्राप्त विवरणलाई उदृत गर्दै देशभरि करिब ६० प्रतिशत भन्दा बढी मतदान भएको जनाएको हो ।
यसैबीच, आयोगले रौतहटमा ८० प्रतिशत मतदान सम्पन्न भएको जनाएको छ । रुकुम, कपिलवस्तु, लमजुङ, तनहुँ र रुपन्देहीमा करीब ७० प्रतिशत मतदान भएको छ भने पाँचथरमा ६८ प्रतिशत मतदान सम्पन्न भएको छ ।
अर्घाखाँची, हुम्ला, डोल्पा, गुल्मी, अछाम, इलाम, सल्यान, जाजरकोटमा पनि ६५ प्रतिशत मतदान भएका छन् ।
धनकुटामा ६१ प्रतिशत मतदान भएको छ भने गोरखा, बाग्लुङ, बर्दिया, कैलाली, दार्चुला, धादिङ, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, दाङ, नवलपरासी, प्युठान, ललितपुर, पर्सा, जुम्ला, सुनसरी, कालिकोट, पाल्पा, स्याङ्जा र म्याग्दीमा ६० प्रतिशत मतदान सम्पन्न भएको बुलेटिनमा उल्लेख छ ।
हिमाली जिल्ला मुस्ताङमा ५८, मोरङ, मुगुमा ५५ प्रतिशत मतदान सम्पन्न भएको छ भने डोल्पामा ५२ प्रतिशत मतदान सम्पन्न भएको छ । धनुषा, रोल्पा, जाजरकोट, डोटी, ताप्लेजुङ, डडेल्धुरामा ५० प्रतिशत मतदान सम्पन्न भएको आयोगको भनाई छ ।
यसैबीच, जुम्लाको देपाल गाविसस्थित त्रिभुवन उच्च मावि झारज्वाला मतदान केन्द्रमा असहजस्थिति उत्पन्न भएपछि मतदान स्थगित गरिएको आयोगले जनाएको छ ।
उता, रामेछापको जागृति निमावि दोरम्बामा विवादका कारण अपरारान्ह केहीबेरका लागि रोकिएको मतदान प्रहरी प्रशासन र दलका स्थानीय प्रतिनिधिको सहमतिपछि सञ्चालनमा आएको छ ।
दैलेख क्षेत्र नम्बर २ स्थित चामुण्डा गाविसको हाडाकोट माविस्थित २ वटा केन्द्रमा केही घण्टा अवरुद्ध मतदान पनि मध्यान्हबाट पुन: सञ्चालनमा आएको बुलेटिनमा जनाईएको छ ।
यद्यपि, आयोगले विवाद भएको भनिएका गोरखा, सिराहालगायतका जिल्लामा बुथ र केन्द्रका बारेमा केही जनाएको छैन । ति जिल्लाहरुमा उजुरी परेको कांग्रेस, एमाले लगायतका दलहरुले जनाएका छन् ।
उता, सरकारले पनि केही छिटफुट घनटना बाहेक आजको मतदना शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । उसले मतदानमा सहभागी भएर सहयोग गरेकोमा बधाई पनि दिएको छ ।
प्रतिक्रिया