काठमाडौं, ४ मंसिर । कांग्रेसले संविधानसभाको मतदानका क्रममा एमाओवादीले गोरखा जिल्लाका तीन वटा क्षेत्रका अधिकांश बुथ कब्जा गरेर धाँदली गरेको भन्दै पुन: मतदान गराउन माग गरेको छ ।
‘एमाओवादीबाट कब्जा गरिएका तपसीलका मतदान केन्द्रलाई तत्कल रद्द गरी अर्को मतदानको व्यवस्थाका लागि कांग्रेस माग गर्दछ,’ उजुरीमा भनिएको छ । कांग्रेसले आजै (मंगलबार) निर्वाचन आयोगमा निवेदन दिएको जनाएको छ ।
गोरखाका निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा मतदान गराउन माग गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘एमाओवादीले अनेकौ मतदान केन्द्र कव्जा गरेर अन्य राजनीतिक दलका प्रतिनिधिहरुलाई मतदान केन्द्रमा बस्न समेत नदिई एकलौटी ढंगले मतदान गरिरहेको छ,’ कांग्रेसले विज्ञप्तिमा भनेको छ ।
कांग्रेसका प्रतिनिधिले यसबारे मतदान अधिकृत, निर्वाचन अधिकारी र स्थानीय प्रशासनलाई बास्तविकताको जानकारी दिँदा पनि वेवास्ता गरिएको आरोप लगाएको छ ।
‘मतदान केन्द्रलाई एमाओवादीको कव्जाबाट मुक्त गरी एकतर्फी चुनावलाई रद्द गरेर पुन: मतदानको व्यवस्था गर्न माग गर्दछ,’ कांग्रेसले भनेको छ । एमाओवादीले बुथ कव्जालाई निरन्तरता दिएको भन्दै कांग्रेसले निर्वाचन आयोगमा लिखित उजुरी पनि गरेको जनाएको छ ।
गोरखा क्षेत्र नम्बर १ को ध्याल्चोकको ज्ञान मावि र पातलदेवी निमावि, घैरुङको हिमालय मावि, वाँस्कोट घैरुङको भगवती माविका, नाम्जुङको जनशक्ति मावि, बर्लाङको सरस्वती मावि, लक्ष्मीज्योति प्रावि, नारायणपुरको ज्योति प्रावि, अश्राङको नवजाग्रति उमावि, चण्डेश्वरी प्रावि, दुर्वुङको थानेश्वरी प्रावि, वुथ र दुर्वुङ डुम्रिडाडाको भगवती माविका बुथहरु एमाओवादीले कब्जा गरेको कांग्रेसको उजुरीमा उल्लेख छ ।
त्यसै गरी, निर्वाचन क्षेत्र नम्बर २ स्थित नवलपुरको महेन्द्र लीला मावि, आपपिपलको जनता मावि, खोप्लाङको शारदा मावि, गाइखोरको लक्ष्मी मावि, हात्तिगौडाको, पालुङटारको बटडाँडा बुथहरुमा पनि एमाओवादीले कब्जा गरेको कांग्रेसको आरोप छ ।
निर्वाचन क्षेत्र नम्बर ३ का स्वाँरा गाविसको माझथर माविको ‘क’ र ‘ख’ तथा गुम्दा गाविसको गाविस भवनमा रहेको बुथमा एमाओवादीले नियन्त्रणमा लिएर आफै मत हालेको भन्दै कांग्रेसले पुन: मतदान गराउन आयोगसँग माग गरेको हो ।
प्रतिक्रिया