काठमाडौं, ४ मंसिर । संविधानसभा सदस्य निर्वाचन–२०७० का लागि आज (मंगलबार) बिहान ७ बजे देखिनै देशभरिका सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सुरु भएको निर्वाचन आयोगले दाबी गरेको छ ।
मतदानस्थलहरुमा शान्तिसुरक्षाको स्थिति सुदृढ रहेको आयोगको भनाई छ । मतदाताहरु उत्साहका साथ लाइनमा बसेर मतदान गरिरहेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महिला र पुरुषका छुट्टाछुटै लाइन ब्यवस्थित गरिएका छन् भने वृद्ध, गर्भवती महिला, अशक्त, सुत्केरी र अपाङ्गता भएकाहरुलाई प्राथमिकताका साथ मतदानमा सहभागी गराइएको आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मतदानका लागि देशैभरि उत्साहपूर्ण सहभागिता र शान्तिपूर्ण वातावरण रहेको उल्लेख गरे ।
यसैबीच, प्रमुख आयुक्त उप्रेतीले काठमाडौं क्षेत्र नम्बर १ को सहकारी प्रशिक्षण केन्द्र, बानेश्वर मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरे ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुरस्थित लक्ष्मी उच्च माविको केन्द्रमा मतदान गरेका छन् ।
कांग्रेस सभापति सुशील कोइरालाले गृह जिल्ला बाँकेमा मतदान गरेका छन् । उनी विहानै सात बजे नेपालगञ्जस्थित मतदान केन्द्रमा पुगेको थिए ।
एमाले अध्यक्ष झलनाथ खनालले इलामको फिकलस्थित रम्फु केन्द्र, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले तनहुँको दमौलीस्थित सत्यवती उच्च मावि, एमालेका वरिष्ठ नेता माधव नेपालले रौतहटको गौरस्थित रामजानकी कन्या उच्च मावि, राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानुरको बालज्योति उच्च मावि केन्द्रमा मतदान गरेका छन् ।
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले काठमाडौं–१ को मध्ये बानेश्वर सानोगौचरण मतदान केन्द्रबाट बिहान साढे ८ बजे मतदान गरेको आयोगले जनाएको छ ।
निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले काठमाडौं क्षेत्र नम्बर ५ धुम्बाराहीस्थित यूनिभर्सल उच्च माविमा बिहान ७ बजे नै मतदान गरे । मतदान लगत्तै गुरुङले ५ वटा मतदान केन्द्रको अनुगमन गरेका छन् ।
निर्वाचन आयुक्त रामभक्त पी.बी. ठाकुरले काठमाडौं–१ को डिल्लीबजार कन्या मावि केन्द्रबाट बिहान ७ बजे मतदान गरे । आयुक्त आयोधिप्रसाद यादवले काठमाडौं–५ को राहदानी विभाग, नाराणहिटी (ग) मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन् ।
निर्वाचन अयुक्त इला शर्माले काठमाडौं–१ को थापाथलीस्थित प्रसूतिकेन्द्र मतदान केन्द्रमा मतदान गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आयोगका सचिव नरेन्द्र दाहालले पनि राहदानी विभाग, नाराणहिटी (ग) मतदान केन्द्रबाट मतदान गरेका छन् ।
जुम्ला कारागार शाखा अस्थायी मतदान केन्द्रमा रहेका १९ जना मतदाताले ८ बजे सम्ममा नै मतदान सम्पन्न गरेको आयोगले जनाएको छ । सोलुखुम्बु जिल्लाको सल्लेरी कारागार मतदान केन्द्रमा पनि मतदान सम्पन्न भएको छ ।
मुस्ताङ कारागारमा रहेका अस्थायी मतदानकेन्द्रमा पनि मतदान कार्य सम्पन्न भएको छ । उक्त केन्द्रको मतदाता नामावलीमा रहेका १४ जना सबैले मतदान गरेका हुन् ।
डोल्पा जिल्लाको लाहा गाविसस्थित पृथ्वीनारायण प्रावि मतदान केन्द्रमा पनि मतदान सम्पन्न भएको छ । ६१ जना मतदाता रहेको उक्त केन्द्रका सबैले मतदान गरेका छन् ।
बैतडीको दशरथ नगरपालिकामा १ सय २० वर्षीय जानकीदेवी पन्तले मताधिकार प्रयोग गरेकी छन् । लम्जुङ क्षेत्र नम्बर १ को चिसापानी गाविस (सुवेदीगाउँ) को कमला प्राविको मतदान केन्द्रमा १ सय १२ वर्षीया कौशिला बोगटीले पनि मतदान गरेकी छन् ।
दैलेखको सेरी–५ का १ सय १२ वर्षका खविलाल कामीले भवन सेरी (क) मतदान केन्द्रवाट बिहान ७ बजे मत खसालेका छन् । त्यस्तै, बैतडी–१ अन्तर्गत भूमेश्वरकी १ सय ४ वर्षीया मानमती भट्टले भूमेश्वर मावि ठाड (क) मतदान केन्द्रमा बिहान ८ बजे मतदान गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया