काठमाडौ, ४ मंसिर । प्रहरीले तराईका विभिन्न जिल्लामा सशस्त्र गतिविधिमा संलग्न भूमिगत समूह जनतान्त्रिक मुक्तिमोर्चा (राजन समूह) का अध्यक्ष राजन मुक्ति भनिने रञ्जित झालाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ ।
वीरगन्जको ठोरी नाकाबाट केही दिनअघि पक्राउ परेका झालाई केन्द्रीय अनुसन्धान ब्युरोले सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीसँगै विभिन्न जिल्लाबाट सशस्त्र समूहसँग सम्बद्ध पाँच अभियुक्तलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा क्रमश: उमेश यादव स्वामी–कैलाली, दीपक सिंह अजय मुक्ति–धनुषा, श्याम यादव पृथ्वी सिंह–धनुषा, भुवनेश्वर मण्डल मनिष–सप्तरी र सुनिल जैसवाल अग्नि–पर्सा रहेका छन् ।तराईका अन्य १२ वटा भूमिगत संगठनको संयोजक रहेका झालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान टोलीले अन्य सुरक्षा निकायको समन्वयमा पक्राउ गरेको थियो ।
धनुषा, लक्ष्मीपुर गाविस–७ का राजन मुक्ति उपनामले चिनिएका अभियुक्त झा सशस्त्र गतिविधि, हत्या, हिंसा, अपहरण, विष्फोट, चन्दा आतङ्क जस्ता विविध सङ्गठित तथा जघन्य आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका झा संविधानसभाको निर्वाचनलाई बिथोल्ने उद्देश्यले विभिन्न अन्य १२ वटा भूमिगत सङ्गठनको संयोजक रहेको अनुसन्धानका क्रममा खुलेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
०६१ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला समूह) मा संलग्न झा २०६२ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समूह) गठन गरी अध्यक्ष बनेका थिए । विसं २०७० मा विभिन्न १२ वटा भूमिगत सङ्गठन एकत्रित गरी संयोजक बनेका झाले करिब डेढ दर्जन अपराध गरेको प्रहरीको भनाइ छ । उनले तराईका विभिन्न जिल्लामा विशिष्ट व्यक्ति, कर्मचारी, विभिन्न पार्टीका प्रतिनिधि एवम् सर्वसाधारण माथि गोली प्रहार गरी घाइते तथा केहीको हत्या गरेका छन् ।
पत्रकार सम्मेलनमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले अभियुक्त झा तराईका विभिन्न आपराधिक गतिविधिमा मात्र नभई संविधानसभाको निर्वाचन बिथोल्न अन्य भूमिगत गिरोह सँग साँठगाँठ गरिरहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताए ।
प्रतिक्रिया