चुनावको मौकामा काठ तस्करी

धनगढी, ३ मंसिर । सवैको ध्यान चुनावमा केन्द्रीत भइरहेको बेला कैलालीमा राष्ट्रिय तथा सामुदायिक वनबाट काठ तस्करी गर्ने समूह सक्रिय बनेको छ ।

उपभोक्ता, वनका पदाधिकारी तथा वन कर्मचारी लगायत सुरक्षाकर्मी निर्वाचन सफल बनाउनको लागि व्यस्त रहेको मौका छोपेर काठ तस्करी गर्ने समूह वन फडानी गरेर काठ तस्करीमा सक्रिय रहेको बुझिएको छ ।
जिल्लाको पूर्वी क्षेत्र डुडेझारी तथा चुरे क्षेत्रमा वन फडानी गरेर तस्करी गर्ने गरेको स्थानीयवासीको भनाइ छ । काठ तस्करहरुले रातिको समयमा ट्याक्टर, साइकल, गोरुगाडा प्रयोग गरी ओसारपसार गर्नेगरेको स्थानीयले बताएका छन् ।
बिहीबार गोप्य सूचनाको आधारमा डुडेझारी वन क्षेत्रबाट तस्करी गरी लादै गरेको अवस्थामा करिव २० क्यूफिट काठ सहित सात साइकल समेत बरामद गरेको शसस्त्र प्रहरी वल डुडेझारीका सहायक प्रहरी निरीक्षक गणेश शाहले बताए । उनले काठ तस्करीमा संलग्न भने भाग्न सफल भएको बताए ।
यसैगरी शनिबार बलियाको कौवापुरमा रहेको पूर्णिमा सामुदायिक वनबाट १ थान आरा र कोइलाको बोरा मरामद गरिएको छ । सामुदायिक वन भित्र काठ चोर्न तस्करहरु आएको सूचना पाएपछि सामुदायिक वनका अध्यक्ष भक्त बयकाको नेतृत्वमा गएको टोलीले उक्त सामान फेला पारेको हो । आफूलाई देखेपछि तस्करहरु आरा लगायतका सामान छोडर भागेको अध्यक्ष बयकले बताए ।
काठ तस्करहरुले वन फडानी गरी तस्करी गर्नेगरेको सूचना आउने गर्छ । तर, कार्यालयका अधिकांस कर्मचारी निर्वाचनमा खटिएकाले तस्करी रोक्न समस्या भएको जिल्ला वन कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया