कानून विपरित कार्य गर्नेलाई कारबाही : रेग्मी

काठमाडौं, २ मंसिर । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग कार्टर सेन्टरका अध्यक्ष एवं अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरबीच संविधानसभा चुनावका विषयमा परामर्श भएको छ ।
मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज (आइतबार) भएको भेटर्वातामा मंसिर–४ गतेको संविधानसभा निर्वाचनको वातावरण र तयारीका विषयमा छलफल भएको अध्यक्ष रेग्मीको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष कार्टरले वर्तमान सरकारको नेतृत्वमा हुन लागेको चुनावको सिङ्गो अन्तर्राष्ट्रिय समुदायले उच्च मूल्यांकन र प्रशंसा गरेको बताए ।
‘तपाईको सरकारले निर्वाह गरेको भूमिकाको सिङ्गो अन्तर्राष्ट्रिय समुदायले उच्च मूल्याङ्कन र प्रशंसा गरेको छ,’ कार्टरको भनाई उदृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘संविधानसभा निर्वाचनको तयारीबाट म उत्साही भएको छु ।’
कार्टरले नेपालको विशेष परिस्थितिमा हुनलागेको संविधानसभा निर्वाचनको तयारी, व्यवस्थापन र सुरक्षा प्रबन्धबाट स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान कार्यक्रम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको पनि बताए ।
मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले कार्टर सेन्टरलगायत अन्य अन्तर्राष्ट्रिय समुदायले निर्वाचनको पर्यवेक्षण तथा निर्वाचनमैत्री वातावरण निर्माण गर्न गरेको सहयोगको सराहना गरे । ‘सरकारले निर्वाचन लक्षित सुरक्षा प्रबन्धलाई मजबुत बनाएकाले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ,’ रेग्मीले भने ।
अध्यक्ष रेग्मीले निर्वाचनविरोधी कुनैपनि हिंसात्मक गतिविधि हुन नदिन सरकारले विशेष सुरक्षा रणनीति अवलम्बन गरेको दोहर्‍याए । ‘भयरहित वातावरणमा निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ,’ उनले भने, ‘मतदाताहरुको संविधानप्रदत्त मताधिकारलाई कुण्ठित पार्ने दुराशयले कसैले अवरोध गर्ने, हिासात्मक कार्य गर्ने वा कानूनप्रतिकूल कुनै कार्य गरेमा वा गर्न लगाएमा त्यसलाई सरकारले कानूनबमोजिम कारबाही गर्ने छ ।’

प्रतिक्रिया