‘भोट किन्नेसँग सावधान’

Madhav-Nepalकाठमाडौं, २ मंसिर । नेकपा  (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचनमा आर्थिक प्रलोभन देखाएर जनताको मताधिकारलाई प्रभावित बनाउन खोज्ने दल तथा समूहसग सतर्क रहन आम जनतालाई आग्रह गरेका छन् ।

चुनावी प्रचारप्रसार अभियानअन्तर्गत काठमाडौ निर्वाचन क्षेत्र नं २ को गोठाटारमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै नेता नेपालले जनताको अधिकार खरिद गर्ने दुष्प्रयास केही दलले गरिरहेको आरोपसमेत लगाए । नेता नेपालले मुलुकमा संविधान जारी गरी विभिन्न जातजाति, भाषाभाषि तथा संस्कृतिको विकासका लागि आफ्नो पार्टीले बहुपहिचानसहितको संघीयतालाई स्वीकार गरेको धारणा राखे ।
मंसिर ४ को निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन उनले जनतासँग आग्रहसमेत गरेका छन् । नेपालले मुलुकको समुुन्नति र जनताको अधिकार संरक्षण गर्नका लागि आफ्नो पार्टीले लिएको नीति तथा कार्यक्रमको लोकप्रियताले पार्टीप्रति ठूलो जनलहर देखिएको दाबी गरे । शनिबार नै नेपालले काठमाडौ क्षेत्र नं १० को कीर्तिपुरमा आयोजित सभालाई पनि सम्बोधन गरेका थिए । सो कार्यक्रममा बोल्दै नेपालले नयाँ संविधान बनाइछाड्ने प्रतिबद्धता पनि व्यक्त गरे । संविधानसभामा पहिले भएका सहमतिलाई नै आधार मानेर संविधान निर्माण प्रक्रिया अघि बढाइने र राज्य पुन:संरचना र शासकीय स्वरूपको विषयमा दलहरूबीच सहमति हुन नसकेमा जनमत संग्रहबाट त्यसको टुङ्गो लगाइनेसमेत उनले धारणा राखे ।

प्रतिक्रिया